२०७७ को समीक्षा

२०७७ को समीक्षा-२

भाइरसको आहत, भ्याक्सिनले राहत

सृजना खड्का |
चैत ३१, २०७७ मंगलबार १०:५ बजे

काठमाडौँ : स्वास्थ्यका हिसाबले २०७७ ‘कोभिड-१९ वर्ष’ कहलियो । देश थुनियो । सटरहरू बन्द भए । होेटल र रेस्टुरेन्टका चुला निभे । कक्षाकोठाका बेन्चहरूमा धुलो जम्न थाले । सिनेमा हलदेखि पार्टी प्यालेससम्म ताला लागे । चीनको वुहानबाट सुरु भएको कोभिडले नेपालमा लामो समय लकडाउन भयो । चैत ११ गतेदेखि सुरु भएको लकडाउन साउन ६ गते बल्ल खुल्यो । २०७७ सालको लगभग आधा वर्ष लकडाउनमै बित्यो । 

वैशाख १ गते नेपालमा कोभिड संक्रमितको संख्या १४ पुगेको थियो । संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा थियो । स्वास्थ्यका दृष्टिकोणले यो वर्ष डर, त्रास र निराशाबाट सुरु भयो । कोभिडका कारण सामान्य दैनिकीमा फर्किने आशा कमैमा थियो । सरकारले विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्‍यो । तर, क्वारेन्टिनको कमजोर व्यवस्थापनले मानिसहरू क्वारेन्टिनबाट भाग्ने अवस्था आएको थियो । क्वारेन्टिनमा उचित खानपान र शौचालयको व्यवस्था नहुँदा क्वारेन्टिनबाट मानिसहरू भागेका घटना बाहिरिएका थिए ।


सर्वसाधारण डराएर घरभित्रै थुनिए पनि मेसिनसरि खटिएका स्वास्थ्यकर्मीलाई भने डराउने छुट थिएन । घर-परिवारबाट अलग्गिएर पीपीई भित्रबाट दिनरात उनीहरूले सेवा दिइरहे । जसले न शनिबार भने, न सार्वजनिक बिदा । सरकारी अस्पताललाई हेर्ने दृष्टिकोण पनि कोभिडले केही परिवर्तन ल्याइदियो । कोभिड विपत् व्यवस्थापनका तिनै अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीले अब्बल भूमिका निर्वाह गरे । 

यसबीचमा नेपालको स्वास्थ्य प्रणालीमा खासगरी पूर्वाधारको क्षेत्रमा फड्को मारेको देखिन्छ । अस्पताल निर्माणदेखि उपकरण र सेवा विस्तारमा यस वर्षमा केही उल्लेखनीय काम भए । कोभिडका कारण अस्पतालमा आईसीयू र भेन्टिलेटर भित्रिए । त्योसँगै पूर्वाधार सञ्चालन गर्ने दक्ष जनशक्तिको पनि निर्माण पनि यही मौकामा भयो ।

त्यस्तै, जनस्वास्थ्यको क्षेत्रलाई यसअघि खासै प्राथमिकतामा राखिँदैनथ्यो । तर, कोभिडपछि भने जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न थालियो । कोभिडले स्वास्थ्यसँगै जीवनशैलीमा समेत परिवर्तन ल्याइदियो । कोभिडले जनमानसमा बारम्बार हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता व्यवहारको विकास गरिदियो । जसले गर्दा धेरैलाई कोभिडसँगै अन्य रोगबाट बच्नसमेत सघाउ पुर्‍यायो ।

स्वास्थ्यका दृष्टिकोणले यो वर्ष डर, त्रास र निराशाबाट सुरु भयो । 

 

तर, कोभिडको डरले घरभित्र थुनिएका अन्य बिरामी भने मारमा परे । उनीहरू समयमै अस्पतालसम्म पुग्न सकेनन् । लकडाउन अवधिमा ९५ जना सुत्केरीले ज्यान गुमाउनु पर्‍याे । परिवार कल्याण महाशाखामा अघिल्लो वर्ष उक्त अवधिमा ७६ जनाले ज्यान गुमाउनुपरेको तथ्यांक छ । त्यस्तै, दीर्घ रोगी, नसर्ने रोगका बिरामी र अन्य थुप्रै रोगका बिरामी कोभिडका कारण ओझेलमा परे । घरभित्रै रोग पालेर बस्न बाध्य भए । 

त्यस्तै, कोभिड- १९ महामारीले अर्को महामारी जन्मायो- मानसिक रोगको महामारी । कोभिडका कारण धेरैले आफ्नो रोजगारी गुमाए । व्यापारमा घाटा भयो । क्वारेन्टिनमा बस्नुपर्दाको तनाव र आफन्त गुमाउनुपर्दाको पीडाले मानिस मानसिक स्वास्थ्यका हिसाबले विक्षिप्त भए । प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार २०७६ चैत १८ देखि २०७७ जेठ १७ गतेसम्म १३ सय ७१ जनाले आत्महत्या गरेका थिए । सो अवधिमा दैनिक करिब १७ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको थियो ।

लकडाउन खुलेसँगै बिस्तारै मानिसहरू पुरानै दैनिकीमा फर्किन थाले । मास्क, स्यानिटाइनर, भौतिक र सामाजिक दूरी बिर्सिन थाले । कोभिडसँग मान्छे डराए तर, उनीहरूको पेट डराएन । सुरुवादी दिनमा बोल्दैमा कोभिड सर्छ जस्तो गर्नेहरू पनि बिस्तारै खुल्न थाले । जीविकोपार्जनका लागि मानिसहरू सडकमा निस्किन थाले ।

कोभिडले आहत बनाएको हाम्रो जनजीवनमा केही समय पहिले भ्याक्सिनले राहत दिलायो । माघमा नेपालमा १० लाख डोज कोभिड–१९ विरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ भित्रियो । भारत सरकारले अनुदानमा दिएको भ्याक्सिनको पहिलो डोज केही महिना पहिले फ्रन्टलाइनरहरूले लगाए । केही हप्ताअघि चीनबाट कोभिडविरुद्धको भ्याक्सिन ‘भेरोसेल’ भित्रियो । नेपालमा भेरोसेल खोप लगाउन सुरु भइसकेको छ । 

कोभिड संक्रमणदर घट्दो क्रममा थियो । तर, छिमेकी मुलुक भारतसँगै विश्वका विभिन्न देशमा कोभिडको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेको छ । योसँगै नेपालमा पनि कोभिड संक्रमणको जोखिम र संक्रमितको संख्या दिन प्रतिदिन बढ्ने क्रममा छ । भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोभिड संक्रमणको जोखिम उच्च छ ।

नाकाको निगरानी र स्वास्थ्य परीक्षण नबढाएसम्म जोखिम झन् बढ्दै देखिन्छ । कोभिडको हकमा नेपालले विगतबाट धेरै कुरा सिकेको छ, अनुभव गरेको छ । भारतबाट कसरी कोभिड छिर्छ ? कहाँ सतर्कता अपनाउनुपर्छ ? सबै थाहा छ । अहिले विगतमा भएका कमजोरी वा गल्तीबाट पाठ सिक्नुपर्ने बेला आएको छ । 

लकडाउनको वर्ष दिनपछि फेरि लकडाउनकै चर्चा सुरु हुन थालेको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न आग्रह गरेको छ । यो अवस्थामा सतर्कता अपनाउने र जनस्वास्थ्यका मापदण्ड अपनाउनेबाहेक हामीसँग दोस्रो विकल्प छैन । 

र, यो पनि


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x