२०७७ को समीक्षा

२०७७ को समीक्षा-९

सामाजिक दूरीको वर्ष : तैपनि वर्षान्तमा हर्ष

प्रविणबिक्रम कट्‍वाल |
बैशाख १, २०७८ ११:१९ बजे

कोभिड–१९ को मारमा अन्य क्षेत्रजस्तै नेपाली खेलकुद पनि पर्‍यो । २०७६ चैतबाट लागू गरिएको लकडाउन २०७७ को असोजमा आएर मात्रै खुकुलो भयो । त्यस अवधिमा खेलकुद गतिविधि भएनन् । नेपाली खेलकुद २०७७ को अन्तिमका तीन महिना बढी नै सक्रिय रह्यो । घरेलुदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरिए ।   

२०७७ को चैतमा नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्‍यो । थ्री–नेसन्स कप नाम दिइएको सो प्रतियोगिता नेपालले २०७७ मा आयोजना गरेको एकमात्र अन्तर्राष्ट्रिय स्तरको खेलकुद ‘इभेन्ट’ थियो । जसका कारण दशरथ रंगशालामा छ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कियो । १३ औँ सागअन्तर्गतको पुरुष फुटबल पनि दशरथ रंगशालामा भएको थियो । तर भूकम्पले भत्काएको रंगशालामा पुनःनिर्माण सकिएपछि थ्री–नेसन्स नै नेपालको सिनियर टिमले खेलेको पहिलो प्रतियोगिता रह्यो । अनि किर्गिस्तानको अन्डर २३ विरुद्ध खेलेको खेल नै पहिलो खेल बन्यो । 


नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ र एसियन कप २०२३ छनौटअन्तर्गत चैत १७ मा अस्टे«लियासँग खेल्ने तालिका थियो । तर दशरथ रंगशालामा हुने भनिएको खेल स्थगित भयो । यही रंगशालामा हुने भनिएका अन्य खेल पनि कोभिड–१९ को कारण देखाउँदै कुवेत  सारियो । 

त्यसकारण, अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री–नेसन्स कप आयोजना गर्ने निर्णय गर्‍यो । नेपाली टिमसँग प्रतिस्पर्धा गर्न बंगलादेश र किर्गिस्तानलाई निम्तो दियो । बंगलादेशबाट सिनियर टिम आए पनि किर्गिस्तानबाट अन्डर–२३ टिम काठमाडौँ उत्रियो । 

प्रतियोगिताको सुरुवात नेपालले किर्गिस्तानको युवक टोलीसँग बराबरी खेल्दै गर्‍यो । दोस्रो खेल पनि नेपालले बराबरीमा टुंग्यायो । पहिलो खेलमा गोल गर्न नसकेको नेपालले बंगलादेशविरुद्ध पनि गोल गर्न सकेन । यद्यपि नेपाल र बंगलादेश फाइनल प्रवेश गरे । जहाँ नेपाल २–१ ले विजयी भयो । र, पाँच हजार अमेरिकी डलर पुरस्कार पायो । थ्री–नेसन्स कप नेपालले ३७ वर्षमा जितेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । पछिल्लो पटक नेपालले सन् १९८४ को साफ गेम्समा फुटबलतर्फ स्वर्ण पदक हात पारेको थियो । संयोगवश त्यसबखत पनि उपाधि भीडन्तमा नेपालको विपक्षी बंगलादेश नै थियो ।   

दशरथ रंगशालामा छ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कंदा नेपाली फुटबलप्रेमी हर्षित छँदै थिए, झन् उपाधि नै जितेपछि खुसी दोब्बर भयो । अझ यो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रंगशाला आएर खेलाडीको हौसला बढाएपछि खेलाडी पनि ‘केपी बा आई लव यु’ भन्न बाध्य भए । फिफा वा एएफसी जस्ता नियामक निकायबाट अनुमति नपाएको प्रतियोगिता भए पनि थ्री–नेसन्स कपले फुटबलप्रेमीमा अथाह उत्साह सञ्चार गर्यो ।    

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा खासै सफलता हासिल गर्न सकेको छैन । दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप जित्नु त परको कुरा, नेपाल फाइनलसमेत प्रवेश गर्न सकेको छैन । साफ जित्ने सपना बोकेको नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेको थियो । सोही अंग्रजी वर्ष नै नेपालले बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप पनि जित्यो । त्यसयता नेपालले जितेको पहिलो प्रतियोगिता नै थ्री–नेसन्स हो ।  

नेपाली घरेलु खेलकुद २०७७ को मंसिरबाट सक्रिय भयो । मंसिर ६ मा नेपालगन्ज म्याराथन आयोजना गरियो । यस पटकको नेपालगन्ज म्याराथनलाई टोकियो ओलम्पिकको छनौटका रूपमा पनि लिइएको थियो । जसमा सशस्त्र प्रहरीको एपीएफ क्लबका गोपीचन्द्र पार्की विजयी बने । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गर्दै प्रतियोगिता जितेका गोपीचन्द्रले टोकियो ओलम्पिकका लागि टिकट पक्का गरे । गोपीचन्द्रले १३ औँ सागमा स्वर्ण पदकसमेत जितेका थिए । 

महिला हाफ म्याराथनतर्फको उपाधि पुष्पा भण्डारीले जितिन् । एपीएफकै धावक रहेकी पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरेकी थिइन् । पुष्पाले नेपालगन्ज म्याराथनमा पाएको सफलतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निरन्तरता दिइन् । बंगलादेशको ढाकामा पुस २६ मा आयोजित बंगबन्धु शेख मुजिब म्यराथनमा स्वर्ण जितिन् । जुन नेपाली एथलेटिक्सको इतिहासमा महिला धावकले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । पुष्पाले नेपालमै सम्पन्न १३ औँ सागमा रजत जितेकी थिइन् । जुन आफैँमा कीर्तिमान थियो । उनले हात पारेको रजत नेपालले साग एथलेटिक्सको महिलातर्फ जितेको एक मात्र पदक थियो ।  

एथलेटिक्स पछि नेपालगन्जमा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरियो । फागुन २१ बाट सुरु सातौँ संस्करणको प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबल प्रतियोगितामा तीन विभागीयसहित पाँच टिम सहभागी भए । उपाधिका लागि दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिडे । 

नेपाली खेलकुद २०७७ को अन्तिमका तीन महिनामा बढी नै सक्रिय रह्यो ।

राउन्ड रोबिनमा आयोजित प्रतियोगिता भएकाले धेरै अंक बटुल्ने टिम नै च्याम्पियन हुने व्यवस्था थियो । त्यसकारण एपीएफ र पुलिसको खेल नै फाइनलसरह बन्यो । जसमा विजयी बन्यो, एपीएफ । प्रतियोगितामा अपराजित रहेको एपीएफले १२ अंक बटुल्दा पुलिसको खातामा आठ अंक थियो । एपीएफले पाँच लाख प्राप्त गर्‍यो । मोफसलमा हुने महिला भलिबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार प्रधानमन्त्री कपकै हो । गएको संस्करण जितेको पुलिस यस पटक उपविजेतामा सीमित हुँदै दुई लाख नगदमा चित्त बुझाउन बाध्य भयो । 

केही वर्षअघि राष्ट्रिय खेल घोषित भएको भलिबलको लिग फागुनको तेस्रो साता सुरु भयो । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको नाममा सञ्चालित प्रतियोगतामा पुरुषतर्फ सात र महिलातर्फ छ टिमले सहभागिता जनाए । २०७६ सालमा सम्पन्न राष्ट्रिय क्लब च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष आठ र शीर्ष छमा रहेका टिमले लिगका लागि छनौट भएका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलिएको प्रतियोगितामा तीन विभागीयसहित हेल्प नेपाल स्पोटर्स, बुलुबले रारा, मणिमुकुन्द भलिबल र नयाँ बजार सामाजिक युवा क्लबले पुरुषतर्फ सहभागिता जनाए । क्लब च्याम्पियनसिपमा शीर्ष आठमा परेको बुद्धटोलले लिगमा भाग लिएन । उता महिलातर्फ तीन विभागीयबाहेक न्यु डायमन्ड स्पोर्टस क्लब, ढोरपाटन भलिबल टे«निङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद् थिए । 

चोटबाट फर्किएकी प्रतिभा मालीले उत्कृष्ट लय देखाएपछि न्यु डायमन्डले महिलातर्फको उपाधि जित्यो । पुरुषतर्फ भने हेल्प नेपाल च्याम्पियन बन्यो । दुई च्याम्पियनले समान तीन–तीन लाख नगद पुरस्कार प्राप्त गरे । महिला र पुरुषतर्फ उप–विजेता बनेका पुलिस र एपीएफले १ लाख १५ हजार पाए । 

घरेलु क्रिकेटका महत्वपूर्ण प्र्रतियोगिता पनि दसँैपछि नै आयोजना गरिए । पुस ११ देखि १९ सम्म दाङको लमहीमा प्रधानमन्त्री कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता आयोजना गरियो । सात प्रदेश र एपीएफले भाग लिएको प्रतियोगिताको उपाधि प्रदेश–१ ले हात पार्‍यो । फाइनलमा एपीएफलाई हराएको रुविना क्षेत्रीको कप्तानीमा रहेको च्याम्पियन प्रदेश–१ ले पाँच लाख प्राप्त गर्‍यो भने उप–विजेता एपीएफले तीन लाख प्राप्त गर्‍यो । 

महिला क्रिकेट पछि पालो आयो पुरुष क्रिकेटको । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ २ देखि १७ सम्म आयोजना गरियो । अघिल्लो वर्ष जेठमै खेलिएको प्रतियोगिता २०७७ मा भने कोभिड–१९ का कारण समयमै हुन सकेन । 

राखेपको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित कुल १० टिम सहभागी रहे । उपाधि जित्यो, त्रिभुवन आर्मी क्लबले । सबै संस्करणको फाइनल पुगेको आर्मीले उपाधि भीडन्तमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई हरायो । विजेता आर्मीले १० लाख हात पार्दा उप–विजेता एपीएपले पाँच लाख पायो । 

वर्षको दोस्रो महिला क्रिकेट प्रतियागिताका रुपमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप आयोजना भयो । ललितपुर महानगरपालिकाको आयोजनामा चैत २१–२८ सम्म सञ्चालित प्रतियोगितामा कुल छ टिमले भाग लिए । टि–ट्वान्टी ढाँचामा खेलिएको प्रतियोगिताको उपाधिमाथि एपीएफले कब्जा जमायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा एपीएफले सुदूरपश्चिमलाई आठ विकेटले हरायो । विजेता बने बापत एपीएफले तीन लाख नगद पुरस्कार पायो भने उप–विजेता सुदूरपश्चिमले १ लाख ५० हजारको प्राप्त गर्‍यो । प्रधानमन्त्री कपको उपाधि जितेको प्रदेश–१ भने तेस्रो स्थानमै सीमित भयो । 

फुटबलमा पनि माघदेखि चैतसम्म तीन लिग आयोजना गरिए । माघ ७ देखि फागुन ७ सम्म राष्ट्रिय महिला लिग सञ्चालन भयो भने फागुन ११–२३ मा सहिद स्मारक बी डिभिजन लिग खेलाइयो । त्यस्तै नेपाली घरेलु फुटबलमा तेस्रो श्रेणीको लिग मानिने सी डिभिजन चैत १ देखि ३० सम्म आयोजना भयो । तीनवटै लिग काठमाडौँमा खेलाइयो । यसका लागि मुख्य गरी एन्फा कम्प्लेक्सको मैदानलाई प्रयोग गरियो ।

उद्घाटन र फाइनल खेल दशरथ रंगशालामा खेलाइएको राष्ट्रिय महिला लिगका बाँकी खेल भने एन्फा कम्प्लेक्समा भए । तीन विभागीय टिमबाहेक एक महानगरपालिका र तीन नगरपालिका गरी कुल सात टिम रहेको लिगको विजेता एपीएफ बन्यो । एकै खेल नहारी लिग च्याम्पियन बनेको एपीएफले १५ लाख पुरस्कार प्राप्त गर्‍यो । लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो र तेस्रो स्थानमा रहे । पुच्छारको चौदण्डीगढी नगरपालिकाले एकै खेल पनि जितेन । लिगमा जम्मा चार गोल गर्न सकेको चौदण्डीगढीले १०६ गोल खायो ।  

२०७६ को चैत ५ मा स्थगित भएको बी डिभिजन लिग २०७७ को फागुनमा आएर सुचारु गरियो । गत वर्ष पाँच खेल सकिनासाथ स्थगित गरिएको बी डिभिजन लिगका बाँकी सबै खेल यस वर्ष भए । १२ टिम सम्मिलित लिगको च्याम्पियन सातदोबाटो युथ क्लब बन्यो । लिगमा ११ खेलबाट २८ अंक बटुलेको सातदोबाटो ए डिभिजनमा बढुवा भयो भने पुलचोक स्पोर्टस क्लब सी डिभिजनमा घटुवा भयो । लिग जितेको सातदोबाटोले १५ लाख पुरस्कार पायो भने दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले आठ लाखमा चित्त बुझायो । 

घरेलु फुटबल पिरामिडको अन्तिममा रहेको सी डिभिजनको च्याम्पियन चर्च ब्वाइज युनाइटेड बन्यो । कुल १४ टिम सहभागी सी डिभिजनबाट चर्च ब्वाइजबाहेक वीरगन्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भए । शीर्ष तीन टिमले क्रमशः १० लाख, सात लाख र चार लाख प्राप्त गरे । 

२०७७ मै नेपाली फुटबल र क्रिकेट टिमले नयाँ प्रशिक्षक पाए । त्यो पनि विदेशी । कोभिड–१९ का कारण तत्कालीन मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनबाट नेपाल फर्कन पाएनन् । उनको अनुपस्थितिमा बालगोपाल महर्जनले पाँच खेलमा नेपाली पुरुष फुटबल टिमलाई प्रशिक्षण दिए । तर थ्री–नेसन्स कप पछि उनले मुख्य प्रशिक्षकको पदमा निरन्तरता पाएनन् । एन्फाले कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई मुख्य प्रशिक्षक बनायो । 

त्यस्तै, फुटबलकै महिला टिमले पनि विदेशी प्रशिक्षक पायो । एन्फाको प्राविधिक निर्देशक रहेका अस्टे«लियन नागरिक ग्यारी फिलिप्सलाई फागुनको दोस्रो साताबाट महिला टिमको जिम्मेवारी दिइयो । गत सागमा महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि महिला टिम प्रशिक्षकविहीन रहँदै आएको थियो । 
श्रीलंकामा जन्मिएका अस्टे«लियन नागरिक डेभ ह्वाट्मोर गत पुसबाट नेपाली राष्ट्रिय क्रिकेट टिम (पुरुष) को मख्य प्रशिक्षकमा नियुक्त भए । भारतका उमेश पटवालले राजीनामा दिएपछि हवाट्मोर मुख्य प्रशिक्षक बनेर नेपाल आएका हुन् । सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएको हवाट्मोर आफ्नो जमानाका नाम चलेका खेलाडी पनि हुन् । बंगलादेश, पाकिस्तान र जिम्बावेका राष्ट्रिय टोलीहरूलाई प्रशिक्षण दिएका हवाट्मोरसँग इन्डियन प्रिमियर लिगको समेत अनुभव छ । 

नेपालमा सबैभन्दा बढी दर्शक तान्ने खेल फुटबल र क्रिकेट नै हुन् । त्यसै पनि व्यवस्थित घरेलु संरचना नभएका यी खेल कोभिडको मारमा नराम्रोसँग परे । नेपाली फुटबल लिगहरू खासै लामो अवधि सञ्चालन हुँदैनन् । २०७७ मा त छोटो नै भए पनि सहिद स्मारक ए डिभिजन लिग भएन । 

२०७६ मा दुई महिना खेलाइएको ए डिभिजन लिग यस पटक सञ्चालन नगर्न एन्फाका लागि कोभिड राम्रो बहाना बनिदियो । काठमाडौँ केन्द्रित शीर्ष श्रेणीको लिगले नेपाली फुटबललाई उँभो लगाउन नसक्ने ठम्याई छ । तर काठमाडौँ केन्द्रित लिग नै नहुँदा खेलाडी लामो समय बेरोजगार बने । फागुन सकिएसँगै देशभर सुरु भएका नकआउट प्रतियोगिताहरूले ए डिभिजन खेल्ने खेलाडीहरूलाई मैदानमा फर्काएको छ । तर यी प्रतियोगिताहरू नेपाली फुटबललाई टेवा पुर्‍याउन आयोजना गरिएका हुन् वा सहर विशेषको इज्जतसँग जोडिएका फगत ‘इभेन्ट’ हुन्, मधुरो बहस जारी छ ।    

केही फ्रेन्चाइज लिगले २०७७ मा निरन्तरता नपाए पनि प्रधानमन्त्रीको कपको नाममा हुने पुरुष तथा महिला क्रिकेट प्रतियोगिता सञ्चालन भए । पुरुषतर्फको प्रधानमन्त्री कप मुस्किलले दुई साता खेलाइयो भने महिलातर्फ एक साता । पुरुष क्रिकेटरहरूले एक दिवसीय ढाँचाको खेल खेल्न पाए पनि महिला खेलाडीहरूका लागि भने वर्षका दुवै प्रतियोगिता टि–ट्वान्टी थिए । केही दिन वा साताका प्रतियोगिताले खेलाडी पहिचानदेखि वृत्ति विकासमा अपेक्षाकृत सहयोग गर्दैन भन्ने तथ्यप्रति क्यानका पदाधिकारीहरू पक्कै पनि बेखबर छैनन् । तर आयोजना गर्ने भनिएको नेपाल प्रिमियर लिगको अत्तोपत्तो छैन । न त अन्य प्रतियोगिता नै दुई साताभन्दा लामो गर्न चासो देखाइएको छ । 

२०७७ मा पनि नेपालमा लोकप्रिय रहेका खेल प्रतियोगितामा विभागीय टिमको नै दबदबा रह्यो । खेलेर जीवन धान्न मुस्किल हुने नेपालमा विभागीय टिमहरूले खेलाडीहरूलाई राहत दिएका छन् । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिहाले, त्यस्तो सफलता दिलाउने प्रायजसो खेलाडी विभागीय टिमकै हुन्छन् । घरेलु भूमिमा सम्पन्न १३ औँ सागमा नेपाललाई पदक जिताउने अधिकांश खेलाडी आर्मी, पुलिस र एपीएफ टिमकै थिए । 

राष्ट्रिय खेलकुदका पछिल्ला दुई संस्करणका पदक तालिका हेर्ने हो भने, तीन विभागीय टोलीलाई अन्य टोलीले पछ्याउनै नसकेको देखिन्छ । एकातिर विभागीय टोलीहरूले रोजगारी दिएर खेलाडीहरूलाई आ–आफ्नो करियरलाई निरन्तरता दिन सहयोग गरेको देखिन्छ भने महत्वपूर्ण खेलहरूको प्रतियोगितामा असन्तुलन सिर्जना गरेको पनि देखिन्छ । पछिल्लो उदाहरण, महिला लिग हो । जहाँ एकै खेल नहारी लिग जित्दा एपीएफले एक गोल खाएर विपक्षीविरुद्ध ७७ गोल गर्‍यो भने पालिका टिमहरूले १२ खेलमा ३० गोल पनि गर्न सकेनन् ।

२०७७ को समीक्षा-१ : सिनेमा-संगीत, नाटकै भो !

२०७७ को समीक्षा-२ : भाइरसको आहत, भ्याक्सिनले राहत

२०७७ को समीक्षा-३ : राज्यका अंग, सरकारका औजार बनेको वर्ष

२०७७ को समीक्षा-४ : अर्थतन्त्र जोगाउने ‘विदेशको कमाइ’

२०७७ को समीक्षा-५ : जसो जसो संघ, उसै उसै प्रदेश : गति छ, उपति छैन

२०७७ को समीक्षा-६ : आफ्नो साख आफैँ सखाप पारेको वर्ष

२०७७ को समीक्षा-७ : साल २०७७ कस्तो रह्यो ? (भिडियो)

२०७७ को समीक्षा-८: शरीरमा भाइरसको डर, सम्पदा-संस्कृतिमा सरकारको !

 



Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार