२०७७ को समीक्षा

२०७७ को समीक्षा-१३

कति निराश हुनु, सकारात्मक बन्‍न पढ्नुहोस् २०७७ का सात सत्कर्म–सफलता

‍ |
बैशाख १, २०७८ १६:१३ बजे

अघिल्लो वर्ष कोभिडमय भयो । डर, त्रास, सन्त्रासमा बित्यो । यद्यपि यहीबीचमा पनि केही सत्प्रयास भए । आफ्नो मन–वचन, कर्मले सत्कर्ममा लागिपरेका स्वास्थ्यकर्मी, शवकर्मी स्वयंसेवी युवादेखि निःशुल्क खाना खुवाउने काम भयो । यस्तै यस्तै सात सत्कर्म–सफलताले २०७७ को सकारात्मक चित्र प्रस्तुत गर्छन् :

ज्यानको बाजी राखेर ज्यान जोगाउँदै स्वास्थ्यकर्मी


कोभिड–१९ का कारण लकडाउन भयो । लकडाउनका कारण मनिसहरू घरभित्र थुनिए । तर, बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी घरबाट बाहिरिए । महिनौँसम्म परिवारबाट टाढिए । दिनरात नभनी २४ सै घण्टा पीपीईमा डाइपर लगाएर खटिए, उनीहरू । जोखिम मोलेर अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, ल्याब टेक्निसियनलगायत सम्पूर्ण स्वास्थ्यकर्मी यस वर्षका धन्यवादका पात्र हुन् । कोभिडकालमा डाक्टरलाई डराउने छुट भएन । तर, अस्पतालमा सेवा गरेकै कारण उनीहरूमाथि छिःछिः र दूरदूरको व्यवहार भयो । कति नर्स डेरामा फर्किन पाएनन् । महिनौँसम्म डाक्टरहरूको घर नै अस्पताल बन्यो । तैपनि, महामारीमा जुध्ने उनीहरूलाई कमैले प्रोत्साहन गरे । सरकारले दिने भनेर निर्णय गरेको प्रोत्साहन भत्ता नपाएका गुनासा आए । प्रोत्साहन भत्ताकै लागि उनीहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्थासमेत आयो । तर, पनि उनीहरू भने निरन्तर सेवामै लागिरहे ।

कोभिड संक्रमित शव व्यवस्थापन गर्ने युवा

कोभिडको डरले स्वस्थ मानिसको छेउछाउ पर्नसमेत हिचकिचाउने अवस्था थियो । तर, भक्तपुरका अरुण सैँजु, राजेश गाइजू, पुनम कर्माचार्य, न्हुज किजू र दीप थकूरले त्यो समयमा जोखिम मोलेर काम गरे । ‘रेस्क्यू एन्ड अवेरनेस (आरएनए)–१६’ नामक उनीहरूको संस्थाले यो समयमा उल्लेखनीय योगदान पु¥यायो । कोभिडकालमा उनीहरू भक्तपुर अस्पतालमा टेन्ट टाँगेर बसे । त्यही टेन्टबाट महिनौँ कोभिड संक्रमितको सेवा गरे ।

कोभिडको लक्षण देखिएकालाई अस्पताल लैजानेदेखि कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेसम्मका काम उनीहरूले गरे । २०७२ सालको भूकम्प आएको बेला यो टोली गठन भएको थियो । विगतदेखि नै विपत् व्यवस्थापनमा खटिएको यो टोली पनि यस वर्षको धन्यवादको पात्र हो ।

पानी पानी भयो काठमाडौँ पनि

आजभन्दा ३७ वर्षअघि अध्ययन सुरु भएको मेलम्ची खानेपानी आयोजना २०७७ सालमा सम्पन्न भई यही चैत १५ गतेदेखि काठमाडौँ उपत्यकामा आउन सफल भयो । सिन्धुपाल्चोकको रिबर्मादेखि काठमाडौँको सुन्दरीजलसम्म साढे २६ किलोमिटर लामो सुरुङ खनेर मेलम्ची पानी ल्याइएको हो । सुन्दरीजलमा १७ करोड लिटर खानेपानी प्रशोधन केन्द्र र मेलम्ची खोलाको स्थायी संरचना (मुहान) समेत निर्माण सम्पन्न भयो । बढीमा आगामी दुई साताभित्र मेलम्चीको पानी पूर्ण क्षमता (दैनिक १७ करोड लिटर) मा ल्याउने सरकारको योजना छ ।

योसँगै उपत्यकाको खानेपानी मागमा ठूलो राहत पुगेको छ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । सुख्खायाममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १३ करोड लिटर आपूर्ति गर्दै आएको छ । आगामी २०८१ सालसम्म सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी सोही सुरुङ हुँदै सुन्दरीजलमा बनाउने ३७ करोड लिटर क्षमताका प्रशोधन केन्द्रमा खसालिनेछ । यसरी मेलम्ची पूर्ण रूपमा दैनिक ५१ करोड लिटर आएपछि उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा छ ।

फुटबलमा सान्त्वना सफलता

विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेल फरक मिति र तटस्थ भूमिमा हुने भएपछि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्न फेरि पर्खनुपर्ने भयो । त्यसकारण, अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री–नेसन्स कप आयोजना गर्ने निर्णय ग¥यो । नेपाली टिमसँग प्रतिस्पर्धा गर्न बंगलादेश र किर्गिस्तानलाई निम्तो दिइयो । बंगलादेशबाट सिनियर टिम आए पनि किर्गिस्तानबाट अन्डर–२३ टिम काठमाडौँ उत्रियो ।

प्रतियोगिताको सुरुवात नेपालले किर्गिस्तानको युवक टोलीसँग बराबरी खेल्दै गर्‍यो । दोस्रो खेल पनि नेपालले बरबरीमा टुंग्यायो । पहिलो खेलमा गोल गर्न नसकेको नेपालले बंगलादेशविरुद्ध पनि गोल गर्न सकेन । यद्यपि नेपाल र बंगलादेश फाइनल प्रवेश गरे । जहाँ नेपाल २–१ ले विजयी भयो । र, पाँच हजार अमेरिकी डलर पुरस्कार पायो । थ्री–नेसन्स कप नेपालले ३७ वर्षमा जितेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । पछिल्लो पटक नेपालले सन् १९८४ को साफ गेम्समा फुटबलतर्फ स्वर्ण पदक हात पारेको थियो । संयोगवश त्यसबखत पनि उपाधि भीडन्तमा नेपालको विपक्षी बंगलादेश नै थियो ।  

दशरथ रंगशालामा छ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कंदा नेपाली फुटबलप्रेमी हर्षित त छँदै थिए । आफ्नो टिमले झन् उपाधि नै जित्दा त प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेपाली फुरुक्क भए । फिफा वा एएफसी जस्ता नियामक निकायबाट अनुमति नपाएको प्रतियोगिता भए पनि थ्री–नेसन्स कपले नेपाली फुटबल क्षेत्रमा उत्साह भने ल्यायो नै ।   

ब्रिक’ बैंक अब ‘क्लिक’ बैंक

कोभिड–१९ महामारीले डिजिटल वित्तीय सेवाको इकोसिस्टम निर्माणमा तीव्रता दिएको छ । भुक्तानी लिने–दिने, अनलाइनबाट नै वस्तु तथा सेवा माग गरी आपूर्ति गर्न सकिने गरी आवश्यक कानुनी र संस्थागत पूर्वाधारसहितको इकोसिस्टम तयार भएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट वा क्यूआर (क्विक रेस्पोन्स) कोडमार्फत सामान्य साक्षरले समेत कारोबार गर्न सक्ने गरी स्मार्ट फोनमार्फत नै बैंकिङ कारोबार, भुक्तानी लिन र दिन सकिने व्यवस्था भएको छ । ई–कमर्सका लागि विद्युतीय भुक्तानी अत्यावश्यक पक्ष थियो, भुक्तानी, फछ्यौट, गुनासो सुनुवाइ, अनुगमन तथा सुपरिवेक्षणका लगि समग्र पूर्वाधार खडा भएपछि डिजिटल कारोबारमा आकर्षण बढिरहेको छ ।

तरकारी बेच्नेदेखि खुद्रा पसलसम्मले क्युआरमार्फत भुक्तानी लिन सकिने व्यवस्था गरेसँगै नगदरहित (क्यासलेस) कारोबारको ग्राह्यता बढ्दै गएको छ । यसले केन्द्रीय बैंकले नोट छाप्नेदेखि नगद प्रयोगका जोखिमसमेत घटाएको छ । सेवा उपभोग र प्रदान गर्ने सवालमा सेवा प्रदायक र सेवाग्राही दुवैको क्षमता बढेको छ । प्रविधिको उपयोगले समयको बचत, सरल र सहज सेवा उपभोग गर्न सम्भव बनाएको छ । आज फिनटेक (फाइनान्सियल टेक्नोलोजी) विश्वभर नै विस्तारित भइरहेको सन्दर्भमा ‘ब्रिक बैंक’ (बैंक भवन) अब क्लिक बैंकमा रूपान्तरण भएको छ ।

महामारीमा महावीरको मल्हम

दुई वर्षअघि राष्ट्रिय आविष्कार केन्द्र स्थापना हुँदा धेरैले ठूलो अपेक्षा राखेका थिएनन् । वैज्ञानिक अनुसन्धान भन्नेबित्तिकै बन्द कोठामा हुने खोज–अनुसन्धानमा सीमित हुने धेरैको अनुमान थियो । तर विदेशको आकर्षक सम्मान र जागिर छाडेर नेपाल फर्किएका महावीर पुनले कोभिड–१९ महामारीमा आफूलाई अब्बल प्रमाणित गरे । नयाँ–नयाँ सोच र खोजमा लाग्ने युवालाई प्रेरित गर्न पुनले आविष्कार केन्द्र खोलेका थिए । जसको पुष्टि, कोभिड १९ महामारीले गर्यो । महामारीमा अस्पतालका डाक्टर र नर्स डराएका थिए । सडक सुनसान थिए । स्वास्थ्य सामग्रीको हाहाकार भएका बेला आविष्कार केन्द्रले रक्षाकवचको काम गर्यो । कोभिडअघि  ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएको आविष्कार केन्द्रले महामारीका बेला स्वास्थ्य सामग्री निर्माण गरेर यसको औचित्य पुष्टि गरिदियो ।

केन्द्रमा कार्यरत वैज्ञानिकले पीपीई, भेन्टिलेटर, मास्क, कोरोना टेस्टिङ बुथ, रोबोटलगायत सुरक्षा उपकरण बनाए । आविष्कार केन्द्रले फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई १२ हजारभन्दा बढी पीपीई वितरण गरेको थियो । केन्द्रले पीपीईका साथै फेस सिल्ड, कोरोना स्वाब कलेक्सन बुथ, एरोसल बक्स, नर्सिङ रोबोट, भेन्टिलेटर, युभिसी डिसइन्फेक्सन बक्स, स्वाब संकलन गर्ने सुइरो नसल स्वाब, डेड बडी बक्स र मास्कका लागि चाहिने फेब्रिकलगायत स्वास्थ्य उपकरणहरू पनि वितरण गरेको थियो । संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न आविष्कार केन्द्रले आइसोलेसन बक्स बनाएको थियो । केन्द्रका संस्थापक पुन आफू मात्रै खोज, अनुसन्धान र सामग्री निर्माण गर्दैनन् । अरूका समस्या, गुनासा सुन्छन् । त्यसलाई मिल्ने भए प्रयोग गर्छन् । त्यसबाट आउने आउटपुट उपभोक्ताकहाँ पुर्याउँछन् । दक्षिण एसियाको नोबेल मानिने म्यागसेसे पुरस्कार पाएका म्याग्दी स्थायी घर भएका पुन विदेशमा विज्ञान तथा प्रविधि विषय पढेका युवा वैज्ञानिकहरूलाई नेपाल फर्काएर खोज तथा अनुसन्धान गर्ने वातावरण पनि दिलाइरहेका छन् । यसले नयाँ–नयाँ आविष्कार विदेशमा मात्रै होइन, अब नेपालमै पनि हुन्छ भन्ने उदाहरण पुनले दिएका छन् ।

निःशुल्क खाना खुवाउने युवा

हुनेखानेका लागि लकडाउन उपहार भयो । परिवारसँग समय बिताउँदै मीठा मीठा परिकार बनाएर खाने, फोटो, भिडियो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गरे । तर नहुनेका लागि लकडाउन अभिसाप बन्यो । कोभिड १९ को कहरबाट बच्न सरकारले लगाएको लकडाउनले रोजगारी गुमेका यस्तै विपन्न नागरिकका लागि वरदान बनेर आइपुग्यो, ‘हन्ड्रेड्स ग्रुप’ ।

२०७६ चैत ११ बाट लकडाउन सुरु भएको थियो । तीन दिनपछि चैत १४ बाट हन्ड्रेड्स ग्रुपले खाना वितरण सुरु गरिदियो । काठमाडौँका महालक्ष्मीस्थान, पशुपति, खुलामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरूले निःशुल्क खाना खुवाए । दैनिक रूपमा हजार जनाभन्दा बढीले उनीहरूले वितरण गरेको खाना खाए । मजदुरले मात्रै होइन, काखमा बच्चा बोकेका महिलादेखि बालबालिका, विद्यार्थीहरूले खाना खाए ।

खाना खुवाउन थालेको आठ महिनापछि कात्तिक १७ गते काठमाडौँ महानगरपालिकाले सडकमा खाना खुवाउने अभियान रोक्न आदेश दिए । काठमाडौँ नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई ‘अबदेखि खाना नखुवाउनू’ भन्दै फोन गरे । तर उनीहरूले खाना खुवाउने काम रोकनन् । जाडो याममा सडकमा सुत्नेहरूलाई कम्बल र स्लिपिङ ब्याग प्रदान गरे ।

यही समूहले दुई वर्षअघि काठमाडौँको अनामनगरमा ‘कपडा ब्याङ्क’ सुरु गरेका थिए । केही दिनअघि मात्रै पनि तेह्रथुम फेदाप गाउँपालिका–१ मा आगजनी पीडितलाई खाद्यान्न तथा रकम हस्तान्तरण । त्यस्तै १३० जना मुसहर बालबालिकालाई निरन्तर रूपमा खाना खुवाउँदै आएका छन् । विभिन्न संस्थाले ती बालबालिकाका शैक्षिक सामग्री उपलब्ध गराइदिए । यो संस्थाले निरन्तर काम गरि नै रहेको छ ।

यो हन्ड्रेड्स ग्रुप पका संस्थापक बब्लु गुप्ता नेपाली हुन् । साढे चार वर्षदेखि विभिन्न रूपमा उनीहरूले विपन्नहरूको सहयोग गर्दै आएका छन् । केही समयअघि यो गु्रप पनि औपचारिक रूपमा दर्ता भएको छ ।



Author

थप समाचार