२०७७ को समीक्षा

२०७७ को समीक्षा-१७

छापा बन्द, अनलाइनको बाढी र पत्रकार बेरोजगार भएको वर्ष

सन्तोष अधिकारी |
बैशाख २, २०७८ १६:३३ बजे

२०७७ साल हरेक हिसाबले विगतभन्दा फरक रह्यो । २०७६ ले जाँदाजाँदै कोभिडको त्रास छोडेर गयो । २०७७ साल कोभिडको भारी बोकेरै आइपुग्यो । बन्दाबन्दीकै बीचमा आएको २०७७ कोभिड त्राससँगै बित्यो । जनधनको क्षतिबीच बित्यो, यो साल । जोखिम अझै कायमै छ । ०७७ को मध्यान्तरमा मत्थर देखिएको महामारी २०७८ मा पनि सकिएको छैन । नयाँ वर्ष सकिनै लाग्दा फेरि जोखिम बढेको छ ।

२०७७ सालमा कोभिडको महामारीसँगै बाढी–पहिरो, डढेलोलगायतले पनि मानिसलाई सतायो । वातावरण ध्वस्त पार्‍यो । काठमाडौं विश्वकै नम्बर १ प्रदूषित सहरमा परिणत भयो ।


ADVERTISEMENT

कोभिडले धेरैको गास र बास खोस्यो । धेरैले रोजगारी गुमाए । २०७७ साल जसरी सुरु भयो त्यसरी नै अन्त्य पनि । कोभिडको प्रभाव सञ्चार क्षेत्रमा समेत पर्‍यो । केही ठूला भनिएका सञ्चार माध्यम बन्द भए । धेरै पत्रकारले रोजगारी गुमाए । केही नयाँ सुरुवातसमेत भए ।
वर्षौंदेखि कमाइरहेका केही मिडियाले कोभिडलाई बहाना बनाए । कोभिड बहानामा धेरै पत्रकार रवाना गरिए । आम्दानी नभएको भन्दै समयमा तलब दिएनन् । खाइपाइ आएको तलब कटौती गरे । बेतलबी बिदामा राखे । श्रमको मूल्य माग्न पत्रकारहरू अनशन बस्नुपर्ने अवस्था आयो । केहीले अझैसम्म तलब पाएका छैनन् ।

कोभिडले प्रिन्ट मिडियालाई सबैभन्दा ठूलो धक्का दियो । तीन चर्चित ट्याब्लोइड कान्तिपुरको ‘साप्ताहिक’, नागरिकको ‘शुक्रबार’, अन्नपूर्ण मिडिया नेटवर्कको ‘सम्पूर्ण’ साप्ताहिक बन्द भए । दुई चर्चित म्यागेजिनमध्ये ‘नेपाल’ बन्दै भयो भने ‘हिमाल’ अनलाइन संस्करणमा रूपान्तरित भएको छ । यीबाहेक काठमाडौँ बाहिरका जिल्लाबाट प्रकाशन हुने विभिन्न मिडिया बन्द भए । उनीहरू अब पुनःप्रकाशन गर्न सक्ने अवस्थामा छैनन् । नियमित प्रकाशन भइरहेका ठूला मिडियाले पनि पत्रिकाको पाना नै घटाएर प्रकाशन गरिरहेका छन् । यस वर्ष अनलाइन मिडिया भने बाढी आएझैँ नै खुले । तर, यिनीहरूको प्रभावकारिता र स्तरीयता परीक्षणकै चरणमा छ । 

पछिल्लो १२ महिनामा मिडिया क्षेत्रले कोभिडको त्रासकैबीच पनि केही राम्रा काम गरेका छन् । कोभिडको त्रासकैबीच सूचना सम्प्रेषणमा उल्लेख्य योगदान गरे । प्रतिनिधि सभा विघटनले देशको राजनीतिक अवस्था तताएको बेला प्रायः सबैजसो मिडियाले प्रतिनिधि सभा विघटन गलत भएको, राजनीतिक दलले शक्ति प्रदर्शन गरिरहँदा कोभिडको त्रास बढेको भन्दै खबरदारी गरेको, स्वास्थ्य सामग्री खरिदमा गरेको घोटलाको पर्दाफास गरेको, किसानलाई रासायनिक मल ल्याउन सरकारले गरेको लापरबाही, कोभिड खोप खरिदमा भएको ढिलासुस्तीमा खबरदारीलगायत थुप्रै उदाहरणीय काम पनि यस वर्ष मिडिया क्षेत्रले गरेका छन् ।

कोभिडले प्रिन्ट मिडियालाई सबैभन्दा ठूलो धक्का दियो । तीन चर्चित ट्याब्लोइड कान्तिपुरको ‘साप्ताहिक’, नागरिकको ‘शुक्रबार’, अन्नपूर्ण मिडिया नेटवर्कको ‘सम्पूर्ण’ साप्ताहिक बन्द भए । दुई चर्चित म्यागेजिनमध्ये ‘नेपाल’ बन्दै भयो भने ‘हिमाल’ अनलाइन संस्करणमा रूपान्तरित भएको छ । 

आफूले पाउने पारिश्रमिक नपाउँदा पनि यो महामारीबीच पत्रकारहरूले समाचार लेख्न छोडेनन् । मिडियाका मालिकले कोभिड हुनु भन्दाअघि अधिकांश पत्रकारलाई न्यूनतम पारिश्रमकसम्म पनि नदिएको घटना ताजै छ । अझै यस वर्ष झन् कोभिड गज्जबको बाहना बन्यो । मालिकले आम्दानी हुने बेलासम्म पत्रकारलाई जस दिए तर, तलब कम । जब कोभिडका कारण बजारबाट आम्दानीका स्रोत खुम्चिन थाले तब पत्रकारले झन् त्यही पाइरहेको रकम पनि गुमाए । यिनै पत्रकारका कारण समाचार लेखिएर मिडिया हाउस आम्दानीसँगै हरेक क्षेत्रमा उकालो लागे तर, आपत् परेका बेला मालिकले तिनै पत्रकारलाई झन् समस्या थोपरिदिए ।

पत्रकारको हकहितका लागि भनेर स्थापना भएको पत्रकार महासंघले पनि एक पान्ने विज्ञप्ति प्रकाशन गर्नबाहेक अरु केही गर्न सकेन । पत्रकारका केही नेताले पत्रकारहरू अनशन बसेको स्थलमा जाने ऐक्यबद्धता जनाउने, मिडिया सञ्चालक र व्यवस्थापनसँग कुरा गर्ने गरे पनि फलदायी हुन सकेन, नतिजा दिएन ।
कोभिडको त्रासबीच पत्रकारको आर्थिक पक्ष सबल बनाउने सकिने काम थिए तर, भएनन् । सरकारले कोभिडका कारण थला परेको पर्यटन उद्योग, उद्योगधन्दा, कलकारखानासँगै मिडिया उद्योगलाई राहतको प्याकेज ल्याउन सकेन । यसका कारण मिडिया क्षेत्र झन् धराशयी बन्यो । मिडिया हाउसले पनि भइपरी आउने जोखिम न्यूनीकरणका लागि राख्नुपर्ने जगेडा कोष राखेको देखिएन । आगामी दिनमा जगेडा कोष हरेक व्यावसायिक मिडिया हाउसले राख्न जरुरी छ ।

कोभिडको त्रासमै एक वर्ष बित्यो । पत्रकार समस्यामा परेको आवाज बोक्न नसकेको पत्रकार महासंघको पनि भर्खरै निर्वाचन सम्पन्न भएको छ । महासंघले नयाँ नेतृत्व पाएको छ । अहिले पत्रकारका नेता चुनिएर आएकाहरुले संस्थागत विकासमा कस्तो भूमिका खेल्छन् त्यसका लागि २०७८ साल परीक्षण वर्ष हुन सक्छ । यसअघिका चुनावमा जस्तै अहिले चुनिएका पत्रकारका नेताले पत्रकारकै हकहितका कुरा धेरै, काम कम गर्छन् कि भन्ने शंका कायमै छ ।

२०७७ को समीक्षा-१ : सिनेमा-संगीत, नाटकै भो !

२०७७ को समीक्षा-२ : भाइरसको आहत, भ्याक्सिनले राहत

२०७७ को समीक्षा-३ : राज्यका अंग, सरकारका औजार बनेको वर्ष

२०७७ को समीक्षा-४ : अर्थतन्त्र जोगाउने ‘विदेशको कमाइ’

२०७७ को समीक्षा-५ : जसो जसो संघ, उसै उसै प्रदेश : गति छ, उपति छैन

२०७७ को समीक्षा-६ : आफ्नो साख आफैँ सखाप पारेको वर्ष

२०७७ को समीक्षा-७ : साल २०७७ कस्तो रह्यो ? (भिडियो)

२०७७ को समीक्षा-८ : शरीरमा भाइरसको डर, सम्पदा-संस्कृतिमा सरकारको !

२०७७ को समीक्षा-९ : सामाजिक दूरीको वर्ष- तैपनि वर्षान्तमा हर्ष

२०७७ को समीक्षा-१० : संसद्‌मा पहिला स्वास्थ्य संक्रमण, पछि सरकारी आक्रमण

२०७७ को समीक्षा-११ : स्वर्णिम समयका स्खलित नायक

२०७७ को समीक्षा-१२ : देशको दशा दर्साउने ७७ का तस्बिर (फोटो फिचर)

२०७७ को समीक्षा-१३ : कति निराश हुनु, सकारात्मक बन्‍न पढ्नुहोस् २०७७ का सात सत्कर्म-सफलता

२०७७ को समीक्षा-१४ : शिक्षामा यति भद्रगोल देखिएको थिएन, देख्‍न नि नपरोस् !

२०७७ को समीक्षा-१५ : अर्थतन्त्रले ठूलो मूल्य चुकाएको वर्ष

- २०७७ को समीक्षा-१६: काकाकुल काठमाडौँमा मेलम्चीको पानी झरेको वर्ष



Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार