Ekagaj Logo
१५ कात्तिक २०८१, बिहीबार
(Thursday, 31 October, 2024)

सप्ताहन्त

रेलगाडी... छुकछुक... छुक.. !

जीवन श्रेष्ठ | साउन २६, २०८१

ढुंगालाई रेल बनाउँदै खेल्दै थिए
'बा'ले देख्नु भयो र भन्नुभयो
लाटा ! के खेल्छस्‌ ढुंगाको रेलगाडी ?
म तिम्लाई साँच्चिकैको  रेलगाडी चढाउँछु
त्यो रेलगाडी पोखरा बेनी चल्नेछ 
कुश्मामा त स्टेसन नै बन्नेछ 
अनि 
तिमी कुश्मा झर्नु
एककप चिया र एउटा पान खाएर 
रातो थुक्दै फेरि रेल चढेर जानु !
'बा'ले देखाएको सपनाको क्याफेमा बसेर 
म चियाको गुलियो मिठाउँदै मख्ख परेथें

बर्खा लाग्ने बित्तिकै 
झरीले बाटो खोलो बन्यो
कगजको डुङ्गा बनाएर खेल्न थाले 
'बा'ले फेरि भन्नुभयो-
लाटा ! के खेल्छस्‌ कागजको डुङ्गा ?
एकदिन म पानी जहाज किन्नेछु
त्यो जहाज प्रशान्त महासागर, हिन्द महासागर हुँदै मृतसागरसम्म हुँइकिनेछ 
तिमी त क्याप्टेन नै बन्नेछौं
म झन् हौसिएँ, मेरो खुट्टा भुँइतिर हैन आकाशतिर 
हिँड्न थालेको महसुस गरेँ !

एक साँझ 
आमा सकिनसकि ख्याउटे सास निकाल्दै 
आगो फुक्दै हुनुहुन्थ्यो
'बा' आउनु भयो 
र 
भन्नुभयो- प्यारी अब तिम्रा दु:खका दिनहरू गए
छाडिदेऊ यी ढुङ्ग्रा, चुला र दाउराहरू
अब म ग्यासको पाइप ल्याएर चुलामा जडान गरिदिन्छु
आमा मुसुक्क हाँस्नुभयो 
अनि
काँचो दाउरा सल्काउँदै सपना बसाल्नु भयो ।

धेरै काल बितिसक्यो 
खोइ कता आइपुग्यो होला 'बा'को त्यो मोनो रेल ?

अचेल  'बा'को मोनो रेलमा चढेर 
म सपनाभरि अझैं हुँइकिरहेको हुन्छु 
रेलगाडी छुकछुक छुक... रेलगाडी छुकछुक छुक !
र फेरि पनि मैले सपना देख्न छाडेको छैन 
भलै मेरो ओठमाथि काला रौंहरूको
एक धर्सो लिक देखिन थालेको छ 
र यही लिकमा दुई औंले रेल हुँइकाउँदै
कहिलेकाहीँ सोच्ने गर्छु 
साँच्चै ! मेरो बाले जस्तै अरुहरूको बाले पनि
दूध भनेर चिनी मिश्रित चौलानी पिलाएकी पिलाएनन् होला ? 
आश्वासनका खिर खिलाए कि खिलाएनन् होला ?

उफ ! मेरो नोस्टाल्जिक नलिहड्डी फुकेर
मेरै आँगनमा एकहूल केटाकेटीहरू 
सधैं चिच्याउँदै,खेल्दै गरेको सुन्छु
रेलगाडी छुकछुक... छुक ! रेलगाडी छुकछुक..छुक !

यसअघि श्रेष्ठको लेख

चिसो कथा

इकागज | असार २१, २०८१

अलिकति बाँच्न भनेर  जन्मिएको मानिस  अलिअलि गर्दै मर्दै जान्छ  पुरिने गरी पूरा नमर्दास...

ए मान्छे

शुरज थपलिया | मंसिर २०, २०८०

आफ्नो स्वाभिमानका लागि अभिमानी बन्नेहरू आफ्नो अधिकारका लागि कर्तव्य बिर्सनेहरू सबैको अधिकार समान हुन्...