मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

प्रधानमन्त्रीले हौसला त जगाउनुभयो, ठाउँ पाए विश्वस्तरीय प्रविधि विकास गर्ने प्रतिभा नेपालमै छन्

अभिषेक चौधरी किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दैछन् । यससँगसँगै उनी प्रविधि विकासका क्षेत्रमा ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा केन्द्रीत छन् । वेल वे इन्टरप्राइजेज नामक कम्पनीको अध्यक्ष समेत रहेका उनी त्यसमार्फत् प्रविधि र नवप्रवर्तनका क्षेत्रमा क्रियाशील उनले आफूहरूले विकास गरेको अटिजमको उपचार विधिदेखि स्मार्ट पोलसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि देखाएका छन् । प्रधानमन्त्रीले प्रविधि विकास र नवप्रवर्तनमा चासो राख्दै युवाहरूलाई प्रोत्साहन र हौसला बढाएको भन्दै ३० वर्षे यी युवाले यस क्षेत्रमा थप काम गरेर नेपालमै नयाँ–नयाँ प्रविधि विकास गरेर विश्व समुदायलाई देखाउने बताए । चौधरीसँग इकागजले गरेको कुराकानीः

भर्खरै यहाँहरू र पाइला टेक्नोलोजीज भएर प्रधानमन्त्रीलाई नेपालमै विकसित प्रविधि प्रदर्शन गर्नुभयो । प्रविधिको क्षेत्रमा हुने अनुसन्धान र विकासमा सरकारले कत्तिको सहयोग गरेको छ ? 

हाम्रो सौभाग्य के हो भने हामीले प्रधानमन्त्री समक्ष त्यी प्रविधिहरू प्रदर्शन गर्न पायौं । सरकारबाट हामीलाई रिसर्च एण्ड डेभलपमेन्टमा सहयोगको प्रतिवद्धता पनि जनाउनुभएको छ । हामीले प्रधानमन्त्रीज्यूलाई सबै प्रविधिका बारेमा ब्रिफिङ गर्दा अत्यन्त चासो लिएर सुन्नुभयो । प्रदर्शनीको अवलोकन गर्नुभयो । यसले हामीलाई थप काम गर्ने हौसला मिलेको छ ।

तपाईंहरू प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेको कति भयो ? 

हामी यस क्षेत्रमा संलग्न भएको चौथो वर्ष भयो । अझै पाइला टेक्नोलोजिज त हामीभन्दा अझै लामो समयदेखि सक्रिय हुनुहुन्छ । यहाँहरूले देख्नुभएकै छ कतिपय रेष्टुरेन्टहरूमा रोबोटले ‘सर्भ’ गरिरहेको हुन्छ । उहाँहरूले दरबारमार्गस्थित एसबीआई बैंकमा बैंकिङ प्रक्रियामा सघाउने व्यवासायिक काम गर्ने रोबोट विकास गर्नुभएको हो । समय परिस्थिति अनुसारका प्रविधि पनि हामीले विकास गरिरहेका छौं । कोभिड–१९ महामारीमा संक्रमण उच्च दरले बढेर धेरै बिरामीहरू भएपछि हामीलाई धेरै भेन्टिलेटरको आवश्यकता परेको छ । भेन्टिलेटर नेपालमै उत्पादन गरेर त्यसको परिक्षणपछि हामीले त्यसको प्रयोगको स्वीकृति लिएर हामीले भेन्टिलेटर नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने पुष्टी गरेर देखाएका छौं । 

नेपालमै विकास गरिएका भेन्टिलेटरहरूको आवश्यक परिक्षण (ट्रायल) र स्वीकृति पनि पाइसक्नुभयो ? 

यसको गुणस्तर र यसले गर्ने कामका सम्बन्धमा चिकित्सकहरू र सम्बन्धित संस्थाले यसको परिक्षण गरिकन पाइला टेक्नोलोजिजलाई प्रमाणपत्र दिनुभएको छ । नेपालमा आवश्यक भेन्टिलेटर हामी यहीं उत्पादन गर्न सक्छौं भनेर त्यसको विकास गरेर हामीले देखायौं । यसरी भेन्टिलेटर उत्पादन गर्दा कोभिड–१९ महामारीको समयमा उपयोगी पनि भयो । 

वेल वेले चाहिं कुन–कुन प्रविधि विकासमा काम गरिरहेको छ ? 

हामीले ट्राफिक व्यवस्थापन, क्राउड कन्ट्रोल र अटिजम भएकाहरूको उपचार सम्बन्धी प्रविधिहरू विकास गरेका छौं । 

यहाँहरूले विकास गर्नुभएको अटिजमको उपचार गर्ने प्रविधि के हो ? 

अटिजम भएका बच्चाहरू बोल्न नसक्ने, उमेर बढ्दै गएपनि उनीहरू बच्चाजस्तै व्यवहार गर्छन् । हामीले एउटा सफ्टवेयर विकास गर्‍यौं र त्यसलाई क्यामेरा वा कम्प्युटरमा प्रयोग गरेर त्यस्ता बच्चाहरूसँग इन्टर्‍याक्सन हुनसक्ने पद्धति विकास गर्‍यौं । अटिजम भएका बच्चाले टाउको या हात हल्लाउँदा स्क्रिनमा भएको वस्तु पनि टाउको वा हात हल्लाएको तिर हल्लिन्छ । टाउको हल्लाउँदा स्क्रिनमा उक्त वस्तु अगाडि वा पछाडि हुन्छ । स्क्रिनमा भएको वस्तु उनीहरूको हात वा टाउकाको चालले चलाउन गयो भने उक्त वस्तुको नाम भन्छ । उदाहरणका लागि स्क्रिनमा स्याउ देखिन्छ अनि उक्त बच्चाले टाउको वा हात हल्लाउँदा भनेको नाम पुनः त्यही वस्तु देखाएर सोध्यो भने उनीहरूले नाम भन्न सक्छ । 

अन्य प्रविधिहरू के विकास गर्दै हुनुहुन्छ ? 

म आफू चिकित्सा पेशासँग आवद्ध हुँदाहुँदै पनि हामीले इञ्जिनियरिङ क्षेत्रमा पनि काम गरेका छौं । हामीले स्मार्ट पोलको विकास गरेका छौं । यसको प्रोटोटाइप डिजाइन भएको छ । स्मार्ट पोल भन्नाले सडकमा हुने पोलसँगै धेरै कुराहरू आवद्ध गरेका छौं । सडक पोलमा बत्ती त भैहाल्ने भयो । बत्तीको पनि हामीले किफायती उपयोग हुनेगरी यसलाई विकास गरेका छौं । उदाहरणका लागि साँझ ७ देखि १२ बजेसम्म मानिसहरू र सवारीसाधनको आवागमन धेरै हुनछ । तर मध्यरातदेखि बिहानीपखसम्म त आवागमन कम हुन्छ । हामीले स्मार्ट पोलमा मानिस वा ट्राफिक आवागमन बढ्नेबित्तिकै इन्टेन्सिटी बढ्ने र कम हुने बित्तीकै त्यसले ५० प्रतिशतमात्र उर्जा उपयोग हुने गरेका छौं । यसले उर्जा दक्षता बढाउँछ । त्यो पोलमा हामीले स्पीकर र अडियो भिजुअल पनि राखेका छौं । होर्डिङ बोर्ड टाँसेर भन्दा पनि श्रव्यदृश्य सामग्रीले धेरै प्रभाव सिर्जना गर्छ । भोलिका दिनमा चुनाव या राष्ट्रिय महत्वका कुनै पनि कामहरूका बारेमा सूचना र जानकारी दिनका लागि प्रयोग गर्न सक्छौं । उदाहरणका लागि माइतीघर मण्डलामा कति प्रदुषण छ भन्ने मापन गर्न त्यसैगरी पोलहरूमै प्रदुषण र ध्वनीको डिटेक्टर राख्न सक्छौं । त्यसबाट हामीले स्मार्ट पोल राखेका ठाउँबाट ध्वनी र वायु प्रदुषणका विभिन्न ठाउँका डेटाहरू लिन सक्छौं । 

स्मार्ट पोलमा रहेको सीसीटीभी क्यामेराले हामीले नेपाली नम्बर प्लेटलाई पनि क्याप्चर गर्छ । कुन नम्बर प्लेट, सवारी साधन रङ, ब्राण्ड लगायत ५ सेकेण्डको फुटेज क्याप्चर गर्छ । यस्तो पोल प्रयोगमा आएपछि स्पीड डिटेक्टर लिएर ट्राफिकहरू बस्नुपर्ने बाध्यता पर्दैन । स्मार्ट पोलले ओभर स्पीड छ भने कसको सवारी साधन हो, ‘तपाईंले ओभर स्पीड (तीव्र वेग)मा सवारी चलाउनुभयो, यति रुपैयाँ फाइन तिर्न आउनुहोस् भनेर ट्राफिक कार्यालयमा उपस्थिति हुन सम्बन्धित सवारीधनीको मोबाइलमा सन्देश पठाउँछ ।’ यस्तो बहुउपयोगी स्मार्ट पोल हामी यहीं विकास गर्न सक्छौं । प्रविधिको उपयोगले सेवा प्रवाह र उत्पादन प्रक्रियामा ठूलो रूपान्तरण ल्याउँछ । त्यस्ता प्रविधिको विकास गर्न नेपालीहरू सक्षम छन् ।  

सरकारले डिजिटल नेपाल फ्रेमवर्क विकासगरी ८ क्षेत्रका विभिन्न भर्टिकलहरूमा डिजिटलीकरण गर्ने भएको छ । यसमा तपाईंहरू केही काम गर्दै हुनुहुन्छ ? 

सरकारको डिजिटल नेपाल कार्यक्रममा हामी आवद्ध छैनौं । हामीले प्रधानमन्त्रीसमक्ष सरबारबाट रिसर्च ल्याबका लागि सहयोग भयो भने हामी युवाहरूले आफ्नो दक्षता त्यहाँ प्रदर्शन गर्न सक्छन् । हामीले प्रविधि नेपालमै विकास गर्नुपर्छ भनेर ‘मेक इन नेपाल’लाई प्रवद्र्धन गरिरहेका छौं । 

प्रविधिको विकास र यसको उपयोगका लासग सबै सरोकारवालाले कसरी काम गर्नुपर्छ जस्तो लाग्छ ? 

यसका लागि सबैभन्दा पहिले त सातै प्रदेशमा अनुसन्धान र विकासका लागि संस्था खोल्नुपर्छ । त्यसले हरेक प्रदेशमा रहेका प्रतिभाहरूले आफ्नो प्रतिभा देखाउने मौका पाउँछन् । यसले प्रविधिको अनुसन्धान र विकासलाई त मद्दत गर्छ नै, प्रतिभाशाली मानिसहरूले आफ्नै ठाउँमा रहेर आफ्नो सोचलाई प्रविधि विकासमा प्रयोग गर्न सक्छन् । अवसर पाए भने यहींका प्रतिभाले विश्वस्तरीय प्रविधि विकास गर्न सक्छन् । आम मानिसहरूलाई प्रविधिको उपयोगमा चासो जगाउँछ र समाजलाई क्रमशः प्रविधिको उपयोगमा अभ्यस्त गराउँदै लैजान्छ ।