फरक रणनीतिमा खेल्दा नेपाललाई उपाधिः मुख्य प्रशिक्षक महर्जन

काठमाडौँ : पहिलो हाफमै दुई गोल गरेपछि नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै सोमबार घरेलु मैदानमा थ्री-नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले एक-एक गोल गरे । बंगलादेशका लागि महबुबुर रेहमानले एक गोल फर्काए ।
प्रतियोगिता विजेता नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गर्यो भने उप-विजेता बंगलादेशले तीन हजार अमेरिकी डलरमा चित्त बुझायो । विजेता र उप-विजेता टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल र बंगलादेशका अलावा किर्गिस्तानको अण्डर-२३ टोली पनि सहभागी थियो ।
फाइनलमा बंगलादेशविरुद्ध जित दिलाएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आफ्नो खेल रणनीति सफल भएको प्रतिक्रिया दिए । ‘आज हामीले पहिलो एघारमा परिवर्तन गर्यौ । अघिल्लो खेलमा भन्दा फरक रणनीति प्रयोग गर्यौ । खेलाडीले पनि योजना मुताबिक नै खेले । त्यसकारण जित सम्भव भयो,’ महर्जनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल युवा किर्गिज टोलीसँग गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा शनिबार आयोजक नेपालले बंगलादेशसँग पनि बराबरी नै खेल्यो । उता बंगलादेशले भने प्रतिोगिताको उद्घाटन खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।
लिग चरणमा तीन अंक बटुलेको बंगलादेश र दुई अंक बनाएको नेपाल फाइनलमा भिड्दा घरेलु टिमले १८ औँ मिनेटमा गोल गर्यो । जुन गोल नेपालका तर्फबाट प्रतियोगितामा भएको पहिलो गोल थियो । शनिबार बंगलादेशसँगै भएको खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका सन्जोगले कर्नरबाट आएको डिफ्लेक्ट सटलाई बंगलादेशको पोष्टतर्फ प्रहार गर्दा नेपालले अग्रता बनायो ।
पहिलो हाफकै ४२ औँ मिनेटमा विशालले नेपालको अग्रता दोब्बर बनाए । अन्जन विष्टको वान टच पासलाई उपयोग गर्दै विशालले सुन्दर गोल गरे ।
दोस्रो हाफमा पनि दबाबमा रहेको बंगलादेशले ८३ औँ मिनेटमा गोल फर्कायो । पराजित टिमका लागि रेहमानले हेडर गोल गरे । बंगलादेशले खेलको उत्तरार्धमा नेपालको पोष्टमा थप आक्रमण गरे पनि गोल थप्न सकेन ।
थ्री-नेसन्स कपको अन्तिम खेलबाटै विराज महर्जनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरे । बंगलादेशसँगको खेलमा ८९ औँ मिनेटमा मैदान प्रवेश गरेका रक्षक विराजका लागि सो खेल राष्ट्रिय टिमबाट खेलेको ७३ औँ खेल थियो । विराजलाई प्रधानमन्त्री ओलीले ब्लेजर लगाइदिएर बिदाइ गरेका थिए । विराजलाई उनका सहकर्मीहरूले बोकेर रंगशाला परिक्रमा गराएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपालका रोहति चन्द घोषित भए भने फाइनल खेलमा म्यान अफ दि म्याच गोलकर्ता सन्जोग बने । रोहितले पाँच हजार अमेरिकी डलर प्राप्त गरे भने सन्जोगले दुई सय पचास अमेरिकी डलर पाए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया