शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

आजदेखि चार दिन विद्यालय बन्द

उपत्यका बाहिर प्रदूषण घट्दै गएको छ : मौसमविद

फाइल फोटो : काठमाडौँको दरबार हाई स्कुल

काठमाडौँ : वायु प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय बन्द भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबारदेखि बन्द भएका विद्यालय अब आइतबार मात्रै खुल्नेछन् । पछिल्ला दिनमा प्रदूषण घट्दै गएका बेला सरकारले संविधान विपरित विद्यालय बन्द गरिदिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबारदेखि उपत्यका बाहिरको प्रदूषण न्युन हुँदै गएको छ ।

पूर्व र पश्चिमका जिल्लामा प्रदूषणको मात्रा धेरै घटेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकामा प्रदूषणको चाप धेरै भएकाले मौसम धुम्म देखिएपनि उपत्यका बाहिरको प्रदूषण न्युन रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

‘काठमाडौँ उपत्यकामा प्रदूषण त्यति धेरै घट्न सकेको छैन् । तर उपत्यका बाहिरका जिल्लामा धेरै घटिसकेको छ’ उनले इकागजसँग भनिन्, ‘उपत्यकामा असहज भएपनि उपत्यका बाहिर भने त्यति धेरै डराउनुपर्ने अवस्था छैन् । बाहिरका जिल्लामा विद्यालय नै बन्द गर्नुपर्ने प्रदूषण देखिदैन् ।’  

सोमबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट विद्यालय बन्द गर्ने निर्णय भएको हो । तर विद्यालय सञ्चालन गर्ने अधिकार संविधानले स्थानीय तहलाई दिएको छ । तर मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय तहका जनप्रतिनिधि र शिक्षक भने अन्यौलमा परेका छन् ।