शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सहिद लखन गाउँपालिकाले घरघरमा घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउने

गोरखा - गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ  नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेका हुन् । 

'ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैंकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ', अध्यक्ष थापामगरले भने । उनले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताए ।

'कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता छ' उनले भने, 'जनताका समस्यालाई अब पालिकाले बैंकसँग सहकार्य गरी समाधान गर्छ ।' उनले सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर व्यवस्थित गरिने बताए ।