आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कठिन मोडमा माधव नेपाल

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सोमबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेका छन् । १५ वर्ष एमालेको महासचिव बनेर पार्टी हाँकेका नेपाललाई पठाइएको पत्रमा सच्चिन अन्तिम मौका दिइएको र आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा काम गर्न भनिएको छ ।

आफ्ना विचार र क्रियाकलापहरू सच्याएर पार्टीका पक्षमा आए निलम्बन अवधि घटाउन सकिने पनि पत्रमा उल्लेख छ । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानेर पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनीसमेत ओलीले दिएका छन् ।

ऋषि कट्टेलले नेकपाविरुद्ध दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतद्धारा गत फागुन २३ भएको परमादेशबाट नेता नेपालको राजनीतिक यात्रामाथि नै गम्भीर धक्का लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाका विषयमा निर्वाचन आयोगको निर्णय पनि त्यत्तिकै किचलोपूर्ण रह्यो ।

सर्वोच्चको आदेशले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फकाईदियो । २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकता सर्वोच्चले खारेज गरेपछि त्यसको सिधा असर एमालेभित्र नेता नेपाल गुटलाई पर्‍यो । 

२०४९ सालमा महासचिव भएका नेपालले डेढ दशक पूरा एमाले हाँकेको थिए ।  तर डेढ दशकको नेतृत्व र एमाले बनाएको जसभन्दा अहिले पाटी सिध्याएको दोष लगाएर अध्यक्ष ओलीले निलम्बन नै गरेपछि नेपाललाई अहिलेसम्मकै ठूलो संकट परेको छ ।

तर ओलीको निर्णय आफूले नमान्ने नेता नेपालको प्रतिक्रिया छ । आफूलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने निर्णय मान्य नहुने उनको फेसबुक स्टाट्समा उल्लेख छ ।

मैदान छोडेर नभाग्‍ने भन्दै वरिष्ठ नेता नेपालले फेसबुकमा लेखेका छन्, ‘सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु ।’

आफूलाई निलम्बन गरिएपनि विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै नेता नेपालले थप अगाडि लेखेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।’

एमालेको नवौ महाधिवेशनबाट आफ्नो नीति पास भएको दाबी गर्दै नेपाल भन्छन्, ‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन । नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’  

त्यसो त नेकपामा हुँदा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउन नेतृत्वदायी भूमिका खेलेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिल्दा अध्यक्षसमेत बनेका नेपाल अब ओलीको नेतृत्वमा रहेको एमालेमा सहभागी हुनुपर्ने बाध्यता आइलागेको छ । पनि उनको यो गन्तव्य सुनिश्चित देखिदैन् ।  
सर्वोच्चको आदेशले सत्तारुढ दल नेकपाको एकता नै खारेज गर्दै नेकपा एमाले र नेकपा माओेवादी ब्यूँत्याइदिएपछि प्रतिक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले पार्टी निर्माणमा सबैभन्दा बढी योगदान आफ्नो रहेको बताएका छन् । 

‘नेकपा एमाले बनाउने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको मैले । अनि केपी ओलीले खोसेर खोसिन्छ,’ नेता नेपालको भनाइ छ । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका माधवकुमार नेपाल सम्भवतः आफ्नो राजनीतिक जिवनको कठिन मोडमा उभिएका छन् । प्रतिनिधि सभा विघटनपछि सडक संघर्षमै होमिएका नेता नेपाल नेकपामा ‘प्रचण्ड’सँग मिलेर ओलीलाई पार्टीबाट निष्कासन मात्रै गरेनन्, आफू अध्यक्ष समेत बने । 

१५ वर्ष एमालेको महासचिव बनेर पार्टी हाँकेका नेपाललाई सांगठनिक संरचनादेखि सूर्य चुनाव चिह्न छोडेर माओवादीसँग जोडिन वा इतिहास मेटिने गरि नयाँ पार्टी खोल्न निकै कठिन हुने देखिएको छ ।  प्रतिनिधिसभा विघटन गर्नु अघि पनि नेकपा विवादमा ओली र दाहाल मिल्दा वरिष्ठ नेताको रुपमा रहँदै आएका नेपाल किनारामा परेका थिए ।

सर्वोच्चको आदेशपछि पनि संसदीय दल र केन्द्रीय कमिटीमा बहुमत नरहेकाले खनाल-नेपाल समूहले पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने निर्णय गरेको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । 

नेता नेपाल २०४६ सालमा संयुक्त वाम मोर्चाको सदस्य थिए । २०४७ सालमा नेकपा एमालेको केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य रहेका नेता नेपालसँगै एमालेमा उनको गुटमा रहेका आक्रामक नेताहरुको राजनीतिक भविष्य चुनौतिपूर्ण बनेको छ ।