शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

सल्यानको दार्मा गाउँपालिकामा विद्यालय खुल्ला रहने

सुर्खेत : सल्यानको दार्मा गाउँपालिकाका सबै विद्यालयहरू खुल्ला रहने भएका छन् । सरकारले आजदेखि देशभर विद्यालय बन्दको आह्वान गरेको भए पनि दार्मा गाउँपालिकाका विद्यालय भने खुल्ला रहने जनाइएको छ । गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द नगर्ने जनाएको हो । 

गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असर नपरेको भन्दै सबै विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । 
‘हाम्रो गाउँपालिकामा वातावरणीय असर सिर्जना भएको छैन, त्यसकारण हामीले विद्यालय खुला गर्ने निर्णय गरेका हौ’ गाउँपालिकाका अध्यक्ष केसीले भने, ‘गाउँपालिकाले अर्काे सूचना  जारी नहुँदासम्म विद्यालय सञ्चालन गर्नेछौ ।’ आगामी जेठ महिनामा सञ्चालन हुने भनिएको वार्षिक परीक्षालाई मध्यनजर गर्दे विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । 

‘कोरोना माहामारीको कारण लामो समय भएको लकडाउनका कारण विद्यालयहरु बन्द थिए र पढाई ठप्प थियो । त्यसकारण अब परीक्षालाई मध्यनजर गरेर विद्यालय सञ्चालन गर्छाै’ उनले भने, ‘यतातिर वातावरणीय प्रदुषणको असर देखिएको छैन ।’ गाउँपालिकामा ३६ वटा सामुदायिक  र एउटा निजी विद्यालय छन् ।