आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ विरुद्ध मुद्दा

फाइल फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको पाइएको छ । 

आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट विरुद्ध रु सात लाख ६७  हजार ९८८ बराबरको बिगो दाबी गरेको छ । 

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी विरुद्ध रु २४ लाख ५१ हजार ५२६, तत्कालीन इञ्जिनीयर पूर्ण कुँवर विरुद्ध रु ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्ट विरुद्ध रु २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पा विरुद्ध रु २९ लाख २८ हजार २७४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।