शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कोभिड-१९ विरुद्ध लड्न कतारको विश्वव्यापी ३ करोड डलर सहयोग

काठमाडौं : कतारले अन्तर्राष्ट्रीय स्तरमा कोभिड-१९ विरुद्धको खोपका लागि ३ करोड अमेरिकी डलर योगदान गर्ने भएको छ । कतारका उपप्रधान तथा परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुल्लाहरहमान अल थानीले क्यानडाद्वारा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनका अनुसार गत मार्च १६ मा कतारबाट विश्व स्वास्थ्य संगठनको कोरोना विरुद्धको अभियानका लागि एक करोड डलर सहायता सम्बन्धी सम्झौता गरेको छ । त्यसबाहेक कोभिड-१९ विरुद्धको भ्याक्सिन तथा उपचारका लागि थप दुई करोड डलर थपेको बताए ।

उप प्रधानमन्त्री शेखले भने, 'हामीले प्राथमिकताका आधारमा सबै नागरिक तथा वासिन्दाको स्वास्थलाई महत्त्व दिएका छौं । राष्ट्रियस्तरमा कोरोनाको प्रभाव सम्बोधन गर्न खोज्दा हामीले पर्याप्त रुपमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा मानवीय कर्तव्य पालना गर्न सकेका छैनौं ।'

कतारले ८८ मुलुकमा आपतकालीन मेडिकल सहयोग गरेको उनले जानकारी दिए । त्यसबाहेक २५ करोड ६० लाख डर बराबरको सरकारी तथा गैरसरकारी सहायता दिएको समेत उनले उल्लेख गरे ।  आगामी जनवरीमा दोहाले पाँचौं संयुक्त राष्ट्र संघीय सम्मेलन आयोजना गर्दैछ । उनले सहभागीताका लागि स्वागत समेत गरे ।