बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

साहित्यिक पुस्तकको लेखकस्वमा लाग्दै आएको कर घटेपछि लेखक न्यौपानेले दिए सरकारलाई धन्यवाद

काठमाडौं– सरकारले साहित्यिक पुस्तकको लेखकस्वमा लाग्दै आएको कर घटाएपछि लेखक अमर न्यौपानेले सरकारलाई धन्यवाद दिएका छन् । संसदमा आइतबार अर्थमन्त्री जनार्जदन शर्माले प्रस्तुत गरेको बजेटमा लेखकहरूलाई लाग्दै आएको १५ प्रतिशत कर कम भएर १. ५ प्रतिशतमा झरेपछि न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै सरकारलाई धन्यवाद दिएका हुन् । 

न्यौपानेले आफूहरु गत वैशाखमा करको विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्न अर्थ मन्त्रालय पुगेको उल्लेख गरेका छन् ।

‘गत वैशाख आठ गते म अर्थमन्त्रीलाई भेट्न एक जना मित्रका साथमा अर्थ मन्त्रालय गएका थियौं । उद्देश्य साहित्यिक पुस्तकहरूमा लाग्दै आएको १५ प्रतिशत कर छुट या न्यून गरी लेखकहरूलाई प्रोत्साहन गरिदिन अनुरोध गर्न थियो,’ उनले लेखेका छन्, ‘अर्थमन्त्री तथा मन्त्रालयका सहसचिव र आर्थिक सल्लाहकारहरूलाई मौखिक व्याख्यासहित लिखित निवेदन पनि पेस गरेको थिएँ । उतिखेर अर्थमन्त्रीले तोक लगाएर सचिवालयमा पठाउनुभएको थियो ।’

उनले अगाडि लेखेका छन्, ‘‘नेपाली साहित्यको बजार सानो छ । सानो बजारलाई विकास गर्न र लेखकहरूलाई प्रोत्साहन गर्न बजेटमा सम्बोधन गरिएकोमा अर्थमन्त्री, अर्थमन्त्रालयका सचिव, सहसचिव तथा आर्थिक सल्लाहकारहरूलाई लेखकहरूको तर्फबाट हार्दिक धन्यवाद ।’