राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा
काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गरेका छन् । उनले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न गरे । संघीयतालाई बलियो बनाउनेगरी ठोस् रुपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो ।
उनले प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको आकार बढाइए पनि पूँजीगत खर्च घटेको बताए । उत्पादनमा गिरावट, सात प्रतिशतले महँगी बढ्नुले मुलुकलाई आर्थिक सङ्कटतर्फ धकेलको आशङ्का व्यक्त गर्दै सांसद भट्टराईले पूँजीगत खर्च गर्ने क्षमता नबढाइकन आर्थिक वृद्धि गर्ने कुरा सम्भावना नरहेको जिकिर गरे ।
नेपाली कांग्रेसका सांसद रमेशजङग रायमाझीले बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई प्राथमिकता दिएको जनाउँदै कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । उनले हरेक वर्ष बजेटप्रति सत्ता र प्रतिपक्षबीच पक्ष र विपक्षमा जुहारी चल्ने गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न माग गरिन्। उनले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्नेगरी बजेट आउन नसकेको टिप्पणी गरिन् । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले प्रादेशिक र सङ्घीयतालाई मजबुत तथा संस्थागत गर्नेगरी बजेट आएको बताइन् । रासस

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया