पहुँचको आधारमा विभूषण घोषणा गरिएको भन्दै प्रदेश सरकारको आलोचना

मकवानपुर - बागमती प्रदेश सरकार घोषणा गरेको विभूषणको चर्को विरोध भइरहेको छ । पहुँच र राजनीतिक आस्थाको आधारमा विभिन्न व्यक्ति तथा संस्थालाई विभूषण वितरण गर्न लागिएको भन्दै विरोध भएको हो ।
संघीय सरकारले गर्दै आएको विभूषण वितरण कार्यक्रमको नक्कल गर्दै बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको सन्दर्भ पारेर विभूषण घोषणा गरेको थियो । प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लाका विभिन्न क्षेत्रका व्यक्ति र संघसंस्थालाई विभूषण प्रदान गर्ने घोषणा गरेपनि पर्याप्त अध्ययन नभएको आरोप छ ।
प्रदेश सरकारले विभूषण प्रदान गर्नको लागि सार्वजनिक गरेको नामहरूमा मकवानपुर जिल्ला आसापासका व्यक्ति र संस्थालाई मात्रै उच्च प्राथमिकता दिएको देखिएको आरोप छ। जसले गर्दा प्रदेश सरकारले पहिलो पटक सुरु गरेको यो निर्णय विवादित भएको हो ।
प्रदेश सरकारले प्रदेशको सबै जिल्लालाई न्याय गर्न नसकेको नेपाली कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठले बताए । 'प्रदेश भरको चासो र चिन्तन नराख्ने भएपछि कसरी प्रदेश सरकार भन्ने भन्ने यो त जिल्ला विकास समितिको दाइ हो' उनले व्यङ्ग्य गरे ।
प्रदेश सरकारले केही विशिष्टबाहेक अन्य व्यक्तिलाई पहुँचको आधारमा विभूषण गर्न खोजेको भन्दै टिका-टिप्पणी भइरहेको छ । सरकारले सार्वजनिक गरेको व्यत्ति र संस्थाहरूको नाम लिस्ट हेर्दा एकाध व्यक्ति र संस्थाहरू बाहेकको सामाजिक योगदान नै छैन ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्ति तथा ७ वटा संस्थालाई विभिन्न विभूषण सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ । डा. रुइतलाई प्रदेश परोपकार सम्मानबाट सम्मान गर्न लागिएको छ भने डा. महावीर पुनलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ ।
प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम, बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।
पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, हेटौंडाकी इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिने भएको छ । यसैगरी मकवानपुरकै सञ्चारकर्मीहरू प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ भने मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्रदान गरिने भएको छ ।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान गरिने भएको छ । संस्थागतरूपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रालिलाई सम्मान गरिने भएको छ ।
मकवानपुरकै सिमलथली एग्रो फार्म÷ बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।
विभूषण प्रदान गर्ने कार्यविधि नै न्यायपूर्ण नबनेको कारण राजनीतिका रुपमा भागबण्डा गरेर पहुँचको आधारमा वितरण गर्न लागेपछि विरोध आएको हो ।
यद्यपि प्रदेश सरकारले सार्वजनिक गरेको नामका व्यक्ति तथा संस्थाहरूको सामाजिक योगदान उल्लेख्य रहेको सरकारको दाबी छ । प्रदेश सरकारले १५ औं गणतन्त्र दिवसको दिन विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरे पनि वितरणको मिति भने सार्वजनिक गरेको छैन ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया