सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई विश्‍‍वभरबाट बधाई तथा शुभकामना

वासिङ्टन : अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकोमा थप खुशी व्यक्त गरेका छन् । 

उनीहरूको जितसँगै अमेरिकामा लोकतन्त्र, समानता, स्वतन्त्रतालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्‍ने विश्‍वास पनि विश्‍वका नेताहरूले गरेका छन् । फ्रान्सका राष्ट्रपति इंम्यानुएल म्याक्रोँले सामाजिक सञ्जाल ट्‍वीटरमा नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् । उनले अहिलेका विश्वका चुनौतीहरूलाई सँगसगै सामना गर्न आफुहरूले चाहेको शुभकामना सन्देशमा लेखेका छन् ।

जर्मन चान्सलर एंगेला मर्केल, नाटोका महासचिव जेन्स स्टोल्टेन्बर्ग र इजिप्टका राष्ट्रपति अब्डेल फताह इल सीसीले पनि अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गरेका छन् । त्यसैगरी युक्रेनका राष्ट्रपतिले पनि बाइडेन र उनको परिवारलाई बधाई प्रकट गर्दै आपसी सुमधुर सम्वन्धका लागि कामना गरेका छन् । 

जर्मनका विदेश मन्त्री हेइको मासले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन्, “हामी उहाँसँग नयाँ तरिकाले सहकार्य गर्न चाहन्छौँ, नयाँ सम्वन्ध र सझौता गर्न चाहन्छौँ ।”

उनीहरू निर्वाचित भएकोप्रति चिनियाँ प्रतिक्रिया भने अहिलेसम्म आएको छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार, सुरक्षा, प्रविधि लगायतका विषयमा विवाद भएको चीनले तत्काल प्रतिक्रिया नदिनुलाई चासोका साथ हेरिएको छ । 

बाइडेनको जितप्रति इराकीहरुको प्रतिक्रिया भने मिश्रित रहेको छ । अमेरिकाको उपराष्ट्रपति भएका बेला सन् २००३ मा इराकमा अमेरिकी आक्रमण गराउन उनको ठूलो भूमिका रहेको धेरै इराकीहरुले ठानेका छन् । तर पनि इराकी राष्ट्रपति बार्हाम सलिहले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत उनलाई बधाई दिदै आफ्नो साथी तथा विश्वासीलो सहयात्रीको रुपमा स्मरण गरेका छन् ।    

अमेरिकासँग राम्रो सम्वन्ध रहेको ठानिएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले पनि बाइडेनलाई बधाई दिदै बलियो सहकार्यको प्रतिक्षामा रहेको उल्लेख गरेका छन् । दुई देशको गठबन्धन र साझोदारीता अझै बलियो हुने विश्‍वास पनि उनले सामाजिक व्यक्त गरेका छन् । अमेरिकासँग नराम्रो सम्वन्ध रहेको मानिने भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पनि नयाँ राष्ट्रपति बाइडेनसँग सम्वन्ध सुधारको अपेक्षा व्यक्त गरेका छन् ।   

राष्ट्रपति ट्रम्पका ज्वाई जारेद कुश्नरसँग नजिकको सम्वन्ध रहेका संयुक्त अरब इमरेट् (युएइ)का राजकुमार मोहम्मद बिन जायद अल नाह्यानले पनि ट्रम्पलाई पराजित गरेका बाइडेनलाई वधाइ दिएका छन् । ट्रम्पसँग धेरै राम्रो सम्वन्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकी नयाँ राष्ट्रपति बाइडेनको सफलताको कामना गरेका छन् । आफु र बाइडेनसँगै रहेको फोटो समेत राखेर सामाजिक सञ्जाल मार्फत उनले वधाइ दिएका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले पनि बाइडेनसँग नजिक रहेर सहकार्य गर्न चाहेको र विषेशगरी आफ्ना प्राथमिकताहरुका रुपमा रहेका जलवायु परिवर्तन, व्यापार र सुरक्षाका बारेमा बढी केन्द्रीत भइ काम गर्ने विश्वास व्यक्त गरेका छन् ।  

त्यसैगरी नाइजेरिया, केन्या, ब्राजिल, इजरायल, साउदी अरब, अफगानिस्तान, मेक्सिकोलगायतका देशका सरकार तथा राष्ट्र प्रमुखहरुले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना व्यक्त दिएका छन् । (रासस/एपी)