संसदीय बोर्डको कार्यविधि बनाउन गण्डकीमा एमालेको समिति
माधव पक्षका सांसद पनि समितिमा

पोखरा : नेकपा एमाले र माओवादी ब्युँतिएपछि गण्डकीमा पहिलो पटक एमालेको संसदीय दलको बैठक बसेको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा माधव नेपालपक्षधर सांसदसमेत उपस्थित थिए ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीकाअनुसार बैठकले संसदीय बोर्डको कार्यविधि बनाउन समिति गठन गरेको छ । समितिले अहिलेको विधानमा केही परिमार्जन गर्नुपर्ने भएमा सुझाउनेछ । पूरानो विधानसँगै केन्द्रको विधान हेरेर संसदीय दलले विधान परिमार्जन गर्न सक्नेछ ।
गठित समितिमा सांसदहरू मोहन प्रसाद रेग्मी, इन्द्रलाल सापकोटा र धनञ्जय दवाडी छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सापकोटा माधव नेपालपक्षमा खुलेर लागेका थिए । अहिले भने उनैलाई सम्मिलित गरी बोर्डको कार्यविधि बनाउन समिति बनाइएको छ । ‘बैठकमा सापकोटा माननीय पनि आउनुभो, अब त हामी माधव पक्ष, केपी पक्ष भन्ने नै छैनौं नि,’ प्रमुख सचेतक अधिकारीले भने ।
नेकपा एमालेको माधव समूहका सांसद इन्द्रलाल सापकोटा आफू एमालेको संसदीय दल विभाजित नभएकाले बैठकमा गएको प्रतिक्रिया दिएका छन् । आफूहरू अहिले पनि एउटै पार्टी भएको र एमाले सांसदकै हैसियत रहेकाले बैठकमा गएको उनले बताएका हुन् ।
आफूलाई संसदीय दलको बैठकले समितिमा जिम्मेवारी दिएकोलाई समेट्न खोजेको भन्न नसकिने उनले बताए । ‘समितिबारे संसदीय दलको बैठकले गरेको निर्णय त स्वाभाविक नै भयो, मुद्दा त राजनीतिक मुद्दा हो,’ सापकोटाले भने । अहिले एमालेमा एक समूहले दलाल, नोकरलाई च्यापेर कम्युनिस्टकै खिल्ली उडाइरहेको उनको भनाइ थियो । ‘म जहाँजहाँ बोल्छु, त्यहाँ विधान ख्याल गर्नुप¥यो भनेर बोल्छु, यहाँ त माडबारीलाई चाबी दिएर अरुलाई लखेट्ने काम हुँदैछ,’ सापकोटाले भने ।
माओवादीले पनि संसदीय दलको बैठक राख्ने तयारी गरेको छ । यसअघि नेकपा हुँदा समूहगत भेला गरे पनि पार्टी विभाजित भएपछि माओवादीको बैठक बसेको छैन । अब पार्टीको आन्तरिक कामकारबाही थाल्न संसदीय दलको बैठक डाकिने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । ‘पहिला समूहगत भेला त बसेका हौं, अब संसदीय दलको बैठक डाक्ने तयारी गर्दैछौं,’ चुमानले भने ।
एमाले संसदीय दलको अर्को बैठक २५ गतेलाई डाकिएको छ । प्रदेश सभाको बैठक बसेपछि संसदीय समितिको बैठक बोलाइएको अधिकारीले बताए । समितिले प्रदेशमा संसदीय बोर्ड गठन गर्नेछ । सोही बैठकले एमालेको सचेतक चयन गर्ने जनाइएको छ ।
एमाले नेतृत्वको सरकारलाई अहिले प्रदेश सभामा कुनै खतरा नरहेको प्रमुख सचेतक अधिकारीले दाबी गरे । ‘प्रदेशमा अहिले त्यति साह्रो खतरा छैन, प्रदेश सभाले राम्रो बिजनेसमा काम गर्छ,’ अधिकारीले भने ।
प्रदेश सभामा एमालेका २७ सांसद छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई ३ सांसद भएको राष्ट्रिय जनमोर्चाको साथ छ भने स्वतन्त्र सांसद दीपक मनाङे पनि गुरुङकै पक्षमा छन् । यसरी प्रदेश सभामा गुरुङ सरकारलाई आवश्यक बहुमत पुग्ने देखिन्छ । ‘राजमोले संसद विघटनको मुद्दामा केन्द्र सरकारको विरोध गरेको हो, यहाँ उहाँहरु हाम्रै पक्षमा हुनुहुन्छ,’ अधिकारीले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५, माओवादीका १२ र जनता समाजवादीका २ सांसद प्रदेश सभामा छन् । अविश्वास प्रस्ताव ल्याए पनि पास गराउन सम्भव छैन । यसकारण पृथ्वीसुब्बा गुरुङको सरकारले निरन्तरता पाउने सम्भावना प्रबल छ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत २५ गते डाक्न मन्त्रिपरिषदले सिफारिस गरिसकेको छ । बर्खे अधिवेशन बसेको ६ महिनाको अवधि पु¥याएर अधिवेशन डाकिएको हो । बर्खे अधिवेशन असोज २६ गते अन्त्य भएको थियो ।
विधेयक अधिवेशनमा कम्तीमा १० विधेयक प्रदेश सभामा लैजाने तयारी प्रदेश सरकारको छ । ‘संसदलाई बिजनेश दिन कम्तीमा १० विधेयक लैजाने भन्ने हो, महत्वपूर्ण विधेयकहरु लैजान्छौं,’ कानुन मन्त्री हरिबहादुर चुमानले भनेका थिए ।
कोरलामा व्यापारिक चहलपहल बढ्यो

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

किन्ने हो ऐँसेलु ?

जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

प्रतिक्रिया