आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

एमालेले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएकामा नेम्वाङको आपत्ति

फाइल फोटो

काठमाडौँ - एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजेट छुट्याउन नसकेको आरोप लगाए ।

अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको बताए । सोही कारण पनि आफूले एक रुपैयाँ बजेट राख्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको उनको भनाइ छ ।