मधेस प्रदेश सरकारले ३३ अर्ब हाराहारीको बजेट ल्याउँदै

जनकपुरधाम - मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा ३३ अर्ब ६९ करोड रुपैयाँको बजेट रहेकोमा सोही हाराहारीमा आगामी आर्थिक वर्षको बजेट सरकारले ल्याउन लागेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले जानकारी दिएका छन् ।
प्रदेश सरकारले ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण पनि सुरु गरिसकेको छ । सबैभन्दा बढी यस पटक पनि प्रदेशले भौतिक पूर्वाधार निर्माणका लागि नै बजेट छुट्याउने तयारी रहेको उनले बताए । संघीय सरकारले कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएकोमा मधेस प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट निर्माणको तयारी गरिरहेको उपाध्यक्ष झाले जनाए ।
सरकारले यसअघि नै कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आ.व. को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरिसकेको छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रको बढ्दो व्यापार घाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरूसँग जोड्न नमूना कार्यक्रमहरुको शुरुवात गर्ने उल्लेख छ ।
यस्तै रासायनिक मल माथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीन रूपमा माटो सुधार र प्राङ्गारिक खेती प्रबद्र्धन गर्ने, पशुपंक्षी, मत्स्यपालन र तरकारीलगायतका बाली उत्पादन प्रबर्द्धन कार्यक्रमलाई प्राथमिकता दिने, बाली र पशुपक्षीको बजारीकरणमा सहकारी, निजी तथा अन्तर सरकार समन्वय, सहयोग र सहकार्य गर्ने उल्लेख छ ।
झाका अनुसार बजेटमा अति विपन्न समुदायलाई जीवन निर्वाह खर्च स्वरूप प्रति महिना एक हजार रुपैयाँ दिने योजना समावेश गरिएको छ । यसका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने र स्रोतको सुनिश्चिततासमेत गरिएको छ । त्यस्तै, प्रत्येक वडामा टोल क्लिनिक र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्था लगायत योजना बजेटमा समावेश गरिएको उनले जानकारी दिए ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया