कर्णालीमा माओवादीको सरकार ढाल्ने एमालेको योजना कहाँ पुग्यो ?
२२ गते संसदीय दलको बैठकको प्रतिक्षा !

सुर्खेत : कर्णालीमा नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रदेश कमिटी सदस्य राजु नेपालीका अनुसार आउँदो चैत्र २२ गते दिउँसो संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा पार्टीको सबै सांसदलाई एकजुट बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रत हुनेछ । ‘संसदीय दलको बैठकमा सबैलाई सहभागी गराएर छलफलमा जान्छौ’ उनले भनिन्, ‘त्यसमा सरकार गठनका विषयमा पनि छलफल र बहस हुन सक्छ ।’
गएको चैत्र ४ गते एमाले ओली पक्षधर १० जना सांसदहरुको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । जसलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय बैठकले गरेको थियो ।
यद्यपी, सुरुमा माधव नेपाल पक्षधरले समर्थन कायम रहेको बताएपनि संसदीय दलका नेता यामलाल कँडेलको अथक प्रयासपछि एमालेहरू एक ढिक्कामा बाँधिएको सांसद सुशिल थापाले जानकारी बताए । ‘एमालेका सांसदहरु एक ढिक्का भएका छौ र अब हाम्रो नेतृत्वमा सरकार बन्छ’ सांसद थापाले भने, ‘अब हामीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’ एमालेका सांसदहरु एकजुट भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ ।
यसअघि मंगलबार पनि प्रदेश प्रमुखले मुख्यमन्त्री शाही अल्पमतमा परेको संकेत गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् । त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुने एमाले सांसदहरुले बताएका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद गुलाबजङ्ग शाहले २२ गतेको बैठक दलको नियमित बैठक भएको जानकारी दिए । ‘एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ’ उनले भने ‘अब मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्छ ।’
पार्टीका आन्तरिक विषयमा पनि बैठकमा छलफल गरिने शाहको भनाइ छ । प्रदेशसभामा सभामुखसहित एमालेका २० जना सांसद रहेका छन् । राप्रपाका एकजना सांसदलाई पनि लिएर सरकार गठनका लागि अघि बढ्ने सक्ने देखिएको छ ।
यता कर्णाली प्रदेश सरकार बचाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले आफुहरु बहुमतमा रहेको भन्दै विश्वासको मत लिएर अघि बढ्ने दाबी गरे ।
कर्णाली प्रदेशसभामा अहिले जम्मा ४० जना सांसद छन् । त्यसमध्य सबैभन्दा धेरै एमालेका २० जना सांसद छन् । यसैगरी माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका तर्फबाट एक जना सांसद छन् । एमालेले समर्थन फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री शाहीको सरकार अल्मपतमा परिसकेको छ ।
उनले यसबीचमा थप राजनीतिक गृहकार्य गर्न नसके प्रदेशसभामा बहुमत गुमाउन सक्छन् । सोही कारण पनि माओवादी केन्द्रको सरकार ढाल्ने एमाले ओली पक्षको निर्णय यतिबेला कार्यान्वयनको नजिक पुगेको छ । यद्यपी यसमा माधव नेपाल पक्षका सांसदको मत निर्णायक हुन्छ ।
एमालेबाट कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल मुख्यमन्त्रीका आकांक्षी हुन् । यसअघि उनले दर्ता गरेको अविश्वास प्रस्तावमा पनि नयाँ मुख्यमन्त्रीमा कँडेलको नाम प्रस्ताव गरिएको थियो ।

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

शिक्षकले पाएनन् छ महिनादेखि तलब

प्रतिक्रिया