भोलिबाट ३६४ मेगावाटै निर्यात, प्राधिकरणलाई दैनिक ७ करोड आम्दानी

काठमाडौँ- भोलि (शुक्रबार)देखि नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ । भारतले ६ वटा आयोजना गरी ३६४ मेगावाट निर्यात गर्न अनुमति दिएको थियो । ‘भोलिदेखि ३६४ मेगावाट नै निर्यात हुँदैछ,’ प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईले बिहीबार इकागजसँग भने ।
प्राधिकरणले आज भने ३१२ मेगावाट बिजुली निर्यात गरेको र यसबाट करिब ७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । मनसुन सुरु भएपछि दैनिक रुपमा बिजुली उत्पादन भइरहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले ट्वीट गर्दै भनेका छन् ‘दैनिक रुपमा औसतमा सात करोड रुपैयाँको बिजुली निर्यात भइरहेको छ ।’
प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने समय (पिक) मा कम र पिक बेगरका समयमा धेरै परिमाण निर्यात गर्दै आएको भट्टराईले बताए । हाल जडित क्षमता २२ सय मेगावाट भए पनि कुलेखानीको एक सय चार मेगवाट भने चौबीसै घण्टा उत्पादन हँुदैन । भट्टराईका अनुसार चौबीसै घण्टा करिब १६०० मेगावाट बिजुली उत्पादन भइरहेको छ भने देशको विद्युत् खपत (पिकमा) १५५० मेगावाट छ ।
भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) का हरेक १५ मिनेटको अवधिमा ९० वटा ब्लकमा बिजुली कारोबार हुने गर्छ । नेपालले अधिकतम बिजुली मूल्य प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा), न्यूनतम २.५० भारु (४ रुपैयाँ) र औसत (क्लियरिङ प्राइस) ६.१८ भारु (९ रुपैयाँ ८८ पैसा) पाइरहेको भट्टराईले जानकारी दिए ।
नेपालले आज ७ हजार ६ सय ८८ मेगावाट घण्टा (७६ लाख ८८ हजार युनिट) बिक्री गरेको छ । भारतले सुरुमा त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को बिजुली निर्यात गर्न अनुमति दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै थप चारवटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न सहमति दिएको थियो ।
कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), निजी क्षेत्रको लिखु–४ (५२.४ मेगावाट), मध्य मर्स्याङ्दी (७९ मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) ले अनुमति पाएका थिए । माथिल्लो तामाकोसी (४५६ मेगावाट) को पनि अहिलेसम्म अनुमति दिएको छैन । विद्युत् प्राधिकरणले यसअघि नै अनुमतिका लागि प्रस्ताव गरिसकेको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया