शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

जहाजहरू बिग्रेपछि निगमको ७५ प्रतिशत अन्तर्राष्ट्रिय उडान बिथोलिने

काठमाडौँ : नेपाल वायुसेवा निगमको ७५ प्रतिशत अन्तर्राष्ट्रिय उडान भोलि शुक्रबारदेखि रद्द हुने अवस्थामा पुगेको छ । यसबाट निगमलाई करोडौं रुपैयाँ घाटा पर्ने भएको छ । हिजो बुधबार दुबईबाट आएको एउटा न्यारोबडी (अल्फा किलो व्हिस्की-एकेडब्लू) जहाजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि चेक जाँच गर्दा नोज व्हिलमा हाइड्रोलिक लिकेज (टेक्निकल) देखियो । निगम स्रोतका अनुसार यसको मर्मत गर्न यहाँ पार्टपूर्जा नभएकाले बाहिरबाट ल्याउनुपर्छ ।

निगम स्रोतका अनुसार इन्जिनियरिङ विभागले अप्रिल ६ तारिख (आगामी मंगलबार) सम्म उक्त एकेडब्लू ग्राउन्डेड हुने जानकारी दिइसकेको छ । निगमको अर्काे न्यारो बडी (अल्फा किलो एक्सरे-एकेएक्स) नियमित मर्मत सम्भार (सी चेक) का लागि भोलि शुक्रबार बिहान सिंगापुर जाँदैछ । यसको मर्मतका लागि करिब दुई साता लाग्ने अनुमान छ । एउटा पार्टपूर्जा नपाएर ग्राउन्डेड भएको र अर्काे मर्मतका लागि सिंगापुर जाने भएपछि नियमका दुईवटै न्यारोबडीले उडान भर्न नपाउने अवस्था आएको हो । 

त्यसैगरी गत महिनादेखि हार्डल्याण्डिङका कारण ग्राउन्डेड (थन्केको) भएको वाइडबडी (अल्फा लिमा जुलु- एएलजेड) को अझै मर्मत भएको छैन । मर्मतका लागि निगमले प्रक्रिया थालेको छ । अब बाँकी रहेको एकमात्र सद्दे वाइडबडी (अल्फा लिमा यांङ्की- एएलवाई) ले २५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्न सक्दैन ।
निगमले नयाँ दिल्ली र दुबईमा नियमित उडान गर्दै आएको छ । हाल सञ्चालनमा रहेका मलेसिया, हङकङ, जापान र दोहाको उडान खल्बलिने भएको छ । मलेसियामा निगमले साताको तीनपटक, हङकङमा एकपटक र जापानमा साताको दुईपटक उडान भर्दै आएको छ । 

नियमित उडान तालिकमा निगमको टिकट काटिसकेका यात्रुका लागि उसले अन्य उडानको बन्दोबस्ती गर्नैपर्ने अन्तर्राष्ट्रिय नियम छ । ‘एक त अहिलेको समयमा सितिमिति अन्य विमानको टिकट पाइँदैन,’ स्रोतले भन्यो, ‘पाइहाले पनि अत्यन्त महँगो पर्छ, जसरी निगमले महँगोमा उडाइरहेको छ ।’अर्काे विमानको व्यवस्थापन गर्दा, आफ्नो यात्रु उडाउन नपाउँदा निगमलाई करोडौं रुपैयाँ घाटा पर्ने भएको छ । दिल्ली र दुबईमा आउजाउमै ९० प्रतिशत अक्कुपेन्सी (क्षमता उपयोग) छ । दोहामा पनि यस्तो अक्कुपेन्सी ७२ देखि ८० प्रतिशत छ । जापानमा त्यहाँको नागरिक उड्डयन प्राधिकरणले कोरोनाका कारण क्वारेन्टानइमा बस्नुपर्ने नियम लागू गरेकाले उताबाट आउनेमा ७० देखि ८० प्रतिशत अक्कुपेन्सी रहेको निगमले जनाएको छ। ।

दिल्ली र दुबईमा क्वारेन्टाइनमा बस्नु नपर्ने भएकाले आउने र जाने दुबै उडानमा निगमलाई प्रशस्त आम्दानी हुँदै आएको थियो । सिंगापुरमा सी चेकका लागि निगमले अग्रिम बुकिङ गरिसकेको छ । त्यसअनुसारका सबै प्राविधिक इन्जिनियर, ह्याङ्गर आदिको बन्दोबस्ती भइसकेकाले रद्द गर्न नमिल्ने स्थिति रहेको स्रोतले जनायो । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जहाजहरुमा प्राविधिक गडबडी आउनु सामान्य रहेको र चारवटा जहाजले १२ वटा उडान सेक्टर धान्नुपर्ने भएकाले केही समस्या उत्पन्न भएको बताए । ‘हामी सक्दो छिटो मर्मत गरेर उडानलाई नियमित गर्ने प्रयासमा छौं,’ पौडेलले बिहीबार इकागजसँग भने, ‘टेक्निकल भएको जहाजको मर्मत भोलिबाट नै सुरु गर्छाैं, उडान धेरै दिन अवरुद्ध हुन दिनेछैनौं ।’