वडाध्यक्षको साथ लागेर मन्त्री गुहार्न पुगे वनकरिया

मकवानपुर- वर्षौंदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरिया जातीहरू जग्गाको माग गर्दै मन्त्री गुहार्न सिंहदरबार पुगेका छन् ।
सरकारले भूमिहीनलाई जग्गा वितरण गरिरहँदा आफूहरूले पनि जग्गा पाउनुपर्ने माग गर्दै वनकरिया समुदायका प्रतिनिधि वडा अध्यक्षको साथ लागेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय काठमाडौँ सिंहदरबार पुगेका हुन् ।
उनीहरूले मन्त्री शशी श्रेष्ठलाई भेटेर गुनासो सुनाएका छन् । 'धेरै कुरा हाम्रै वडाबाट हुने रहेछ, तै पनि हामीले मन्त्री भेटेर फर्कियौं, उहाँले हाम्रो कुरा राम्ररी सुन्नुभयो' समुदायकी अगुवा सन्तमाया वनकरियाले भनिन् । यस वडामा रहेका वनकरियालाई सामुहिक पूर्जा उपलब्ध गराउनुपर्ने मागमा आफूले समन्वय गरेको मकवानपुर मनहरी गाउँपालिका-४ का अध्यक्ष प्रकाश थापाले बताए ।
सामुहिक जग्गाधनी पूर्जा भनेको विक्री वितरण गर्न नपाइने तर आफ्नो स्वामित्वमा रहने गरी जग्गा प्रदान गर्नु हो । यसै अनुसार जग्गा उपलब्ध गराउन वडा कार्यालयले पनि माग गरेको अध्यक्ष थापाले बताए ।
पर्सा वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र भएको आरक्ष पीडित रहेको उनीहरूले आफ्नो स्थायी बसोबासको लागि वर्षौदेखि जग्गा माग गर्दै आएका छन् । आरक्ष २०४२ सालमा स्थापना भएको र आफूहरू त्यस अघिबाटै यहाँ बसोबास गर्दै आएकाले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । वनकरियाहरू यस स्थानमा २०१८ सालदेखि बस्दै आएको वडा अध्यक्ष थापाले बताए । 'वनकरियाहरू यहाँको आदिवासी हुन, २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामुहिक लालपूर्जा माग्न गएका हौँ' थापाले भने ।
७ जना वनकरीलाई साथ लिएर मन्त्रालय पुगेका वडाध्यक्ष थापाले मन्त्री शशी श्रेष्ठसँग भेटेर पर्सा वन्यजन्तु आरक्षको समस्यासमेत बिसाएका छन् । वनकरिया समूदायलाई नियमसंगत लालपुर्जा वितरण गर्न थापाले मन्त्री श्रेष्ठ समक्ष माग राखेका थिए । भेटमा मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नै लालपुर्जा वितरण गर्ने अधिकार प्राप्त भइसकेकाले त्यहीँ पहल गर्न सुझाव दिएकी थिइन् । तर, राष्ट्रिय निकुञ्जको बफर जोनमा बस्दै आएका वनकरिया समुदायलाई निकुञ्जले समस्या पारेको जानकारी दिँदै थापाले मन्त्रीस्तरबाटै यसको समाधान गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले स्थानीय स्तरबाट लालपुर्जा उपलब्ध गराउन समस्या भए मन्त्रीस्तरबाटै समस्याको गाँठो फुकाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष थापाले बताए ।
मन्त्रीको आश्वासनले विश्वस्त थापासहितको टोली केही समयभित्रै वनकरिया समुदायले सामुहिक लालपुर्जा पाउनेमा ढुक्क भएर फर्किएका छन् । अध्यक्ष थापाले कार्यकाल सुरु भएको केही दिनमै लालपुर्जाको पहल गरेको भन्दै वनकरिया समुदायकी अगुवा सन्तमायाले खुसी व्यक्त गरिन् । चुनावी अभियानको क्रममा आफुले लालपुर्जाको लागि पहल गर्ने वचन दिएको र कुनै पनि हालतमा वनकरिया समुदायलाई लालपुर्जा उपलब्ध गराउन आफु निरन्तर लाग्ने थापाले बताए ।
यसक्षेत्रमा १९ घर वनकरियाको बसोबास रहदै आएको छ । आर्थिक रुपमा विपन्न उनीहरू पर्सा वन्यजन्तु आरक्षभित्र निउरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जिविका चलाउन केही सहयोग भए पनि यो समुदायमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पुरिपूर्ति हुन नसकेको सन्तोषी वनकरियाले बताइन् ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया