बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

स्वर्णिम वाग्ले चितवनबाट संसदीय निर्वाचनमा उठ्ने

काठमाडौँ– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले चितवन–१ बाट संघीय प्रतिनिधिसभा निर्वाचनमा उठ्ने सम्भावना बलियो बनेको छ । वाग्लेले चितवन–१ वा काठमाडौँ–५ का दुई विकल्पमध्ये एक ठाउँबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । यद्यपि चितवन–१ को लागि नेपाली कांग्रेसले उनलाई टिकट दिने सम्भावना बलियो बनेकाले उनी चितवनबाट उम्मेदवार बन्ने नेपाली कांग्रेसका एक पदाधिकारीले बताए ।

अघिल्लो संसदीय निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ–५ र एमालेका उपाध्यक्ष सुरेन्द्र पान्डे चितवन–१ निर्वाचित भएका थिए । 

वरिष्ठ अर्थशास्त्री वाग्ले अहिले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया तथा प्रशान्त क्षेत्रीय ब्यूरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा कार्यरत छन् । उनी भदौमा नेपाल फर्कदैंछन् । 

२०७१ देखि २०७४ सम्म नेपालमा रहेर वाग्लेले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षका रूपमा काम गरेका थिए । उनले योजना आयोगमा रहेर राष्ट्रिय विकास रणनीति, सार्वजनिक नीति निर्माण, ठूला परियोजनाहरूको अनुगमनका साथै अन्तर्राष्ट्रिय फोरमहरूमा मन्त्रीस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गरेका थिए । 

नेपालमा महाभूकम्प गएको वर्ष २०७२ सालमा उनको अगुवाइमा विपद् पश्चातको आवश्यकता आँकलन (पीडीएनए) भएको थियो । जसको आधारमा नेपालले पुनःस्थापना र पुनःनिर्माणका लागि ४ अर्ब अमेरिकी डलर बराबरको विकास सहायता जुटाएको थियो ।

वाग्लेसँग अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा नेपाल फर्कनुअघि वाग्ले विश्व बैंकको वाशिंगटनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए । त्यसअघि उनले यूएनडीपीकै वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर काम गरेका थिए । 

दक्षिण एसियाली थिंकट्यांक सर्वांगिण विकास अध्ययन केन्द्र (आईआईडीएस)को अध्यक्ष समेत रहेका वाग्ले काठमाडौँ विश्वविद्यालयको सिनेटमा र अन्य गैर–नाफामूलक संस्थाको सल्लाहकार समेत रहेका छन् । उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’का विशिष्ट सदस्य समेत हुन् । 

वाग्लेको लेखनमा हालै 'द ग्रेट अपहिभल' र 'अतृप्त अवसर' पुस्तक प्रकाशन भएका छन् । वाग्लेले सन् २०१३ मै  ‘द राइज अफ साउथ’ शीर्षकमा प्रकाशित विश्व मानव विकास प्रतिवेदनको सहलेखन गरेका थिए । सन् २००२ देखि सन् २००७ सम्म उनले यूएनडीपी एसिया ट्रेड इनिसियटीभमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

गोर्खामा जन्मेका वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधी, अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका हुन् । उनले स्नातक तहको अध्ययन –बीएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका हुन् ।