बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

बाँकी १० खेलबाट लिग जित्‍ने दाउमा स्पेनका तीन क्लब

काठमाडौँ : स्पेनी ला लिगाको उपाधि दौडमा प्रायजसो रियल म्याड्रिड र बार्सिलोना नै अगाडि रहन्छन् । पछिल्ला १० सिजनमा बार्सिलोनाले छ पटक लिग जित्दा रियल तीन पटक च्याम्पियन बनेको छ । त्यस अवधिमा यी दुई क्लबलाई कसैले टक्कर दिने प्रयास गरेको छ भने, त्यो क्लब हो, एथलेटिको म्याड्रिड । जसले स्पेनका दुई महारथीलाई पछि पार्दै २०१३/१४ मा लिग उपाधि उचालेको थियो । 

त्यही एथलेटिको यस पटकको उपाधि दौडमा फर्किएको छ । २०१७/१८ र २०१८/१९ मा बार्सिलोना स्पेनी च्याम्पियन बन्दा उपविजेता बनेको एथलेटिको यस सिजन लिगको शीर्ष स्थानमा छ । लिगमा १० खेल बाँकी रहँदा एथलेटिकोले २८ खेलबाट ६६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको उति नै खेलबाट ६२ अंक छ । रियल चाँहि ६० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

लिगमा यी तीन टिमबीचको फरक मात्रै छ अंकको छ । अंक तालिकामा रहेको चर्को प्रतिस्पर्धाले यस पटकको ला लिगालाई फरक बनाएको छ । आगामी साताहरूमा तीन क्लबमध्ये जो सुकैले पनि बाजी मार्ने सक्ने सम्भावना रहेको छ । 

अन्तराष्ट्रिय बे्रक पछि आइतबार ला लिगा सुचारु हुँदा एथलेटिकोले सेभियाको सामना गर्नेछ । चौथौँ स्थानमा रहेको सेभियाको घरेलु मैदानमा हुने खेल एथलेटिकोका लागि परिक्षा हुनेछ । एथलेटिकोले खेल्न बाँकी रहेका खेलमध्ये सेभियासँगको भिडन्त नै सबैभन्दा कठिन रहेको विश्लेषकहरू बताउँछन् । 

त्यसो त एथलेटिकोका कप्तान कोके लिगमा बाँकी रहेका खेलहरूबाट जसले अधिकतम अंक बटुल्छन् उही नै च्याम्पियन बन्‍ने राय ब्यक्त गर्छन् । ‘अबका १० खेलले लिग च्याम्पियन जन्माउने हो । अहिले हामी लिगको शीर्षस्थानमा छौँ । त्यसकारण पनि हामीलाई सबैभन्दा बलियो दाबेदारका रुपमा लिइएको छ । तर रियल र बार्सिलोनाले सजिलै हार मान्‍ने छैनन्,’ कोकेले भने । 

कप्तान कोकेले मुख्य खेलाडी घाइते हुने क्रम नरोकिएकाले पनि पछिल्ला साताहरूमा आफ्नो टिम केही कमजोर देखिएको स्विकार गरे । एथलेटिकोका युवा फरवार्ड जोआओ फिलिक्स र यानिक कारास्को अन्तराष्ट्रिय बे्रक दौरान घाइते भएपछि एथलटिको तनाबमा छ । 

उता बार्सिलोनाले सोमबार रियल भाल्लाडोलिडको चुनौति सामना गर्दैछ । क्याम्प नौउमा सजिलो मानिएको विपक्षीको समाना गर्दा बार्सिलोना सम्पूर्ण तीन अंक बटुल्ने धेयमा हुनेछ । बार्सिलोना पछिल्ला महिनाहरूमा आत्मविश्वासी देखिएको छ । रोनाल्ड कुमनको प्रशिक्षणमा खेलिरहेको बार्सिलोनाले डिसेम्बर यता लिग खेल हारेका छैन । क्याट्लन क्लबले १८ मध्ये १५ लिग खेलमा जित हासिल गरेको छ । 

तेस्रो स्थानको रियलले भने एइबारसँग खेल्नेछ । एथलेटिको भन्दा छ अंकले पछाडि रहेको रियलले शनिबार रेलिगेसन क्षेत्रमा रहेको एइबारलाई आतिथ्यता प्रदान गर्नेछ । त्यसपछि भने रियलको ध्यान लिभरपुलविरुद्धको खेलमा रहनेछ । च्याम्पियन्स लिगको आन्तिम आठमा इंग्लिस क्लब लिभरपुलसँगको खेल जित्दै रियल यस सिजन कमसेकम एउटा उपाधि जित्ने मिसनलाई जोगाइराख्‍न चाहन्छ ।