'सरकारले राहत दिन्छु भनेको थियो बाटो हेरेर बसिरहेको छु'

सिन्धुपाल्चोक- मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।
गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बनेकी हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो । उनी हाल सुकुम्बासी बनेकी छन् । 'सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन', उनले पीडा सुनाइन् ।
हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियो । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।
हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निक्सिन सकेका छैनन । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहनुभएको छ । 'सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैँ सताउँछ', उनले भने ।
प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । 'निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ', उनले भने । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन् ।
खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ । हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् । रासस

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया