सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

न्यायाधीश नियुक्तिका लागि छुट्टै निर्देशिका जारी गर्दै सरकार

काठमाडाैँ -  सरकारले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि छुट्टै निर्देशिका जारी गर्ने भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले क्षमता भएका न्यायाधीशहरु सर्वोच्च अदालतमा नियुक्त हुने गरी निर्देशिका जारी गर्न लागिएको जानकारी दिएका छन् । 

बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्याय कमजोर भयो भन्‍ने आम गुनासोलाई सम्बोधन गर्न पनि आफूले मन्त्री भएकै दिनदेखि न्याय परिषद्को सदस्यको हैसियतले सो कामलाई अघि बढाएको बताए ।

सर्वोच्च अदालत, सर्वोच्च बार एशोसिएशन, महान्यायाधिवक्ताको राय प्राप्त भएको र अब नेपाल बार एशोसिएशनको राय प्राप्त हुने बित्तिकै सो निर्देशिका जारी हुने र त्यसले न्याय निरुपण छिटो गर्न सक्ने न्यायाधीशको नियुक्त हुने मन्त्री कोइरालाको दाबी थियो ।

मन्त्री कोइरालाले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूमाथि गुनासो आएको उल्लेख गर्दै छानबिन गरेर उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए । न्याय सेवालाई आम जनताको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध रहेको पनि उनले पटक-पटक दोहाेर्‍याए।