मधेश प्रदेशको बजेट चुनाव केन्द्रित रहेको प्रतिपक्षी दलको आरोप

जनकपुर - मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट चुनाव केन्द्रित र कार्यकर्तामुखी बजेट रहेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार प्रदेश सभामा मधेश सरकारका तर्फबाट अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आ.व.का लागि ४६ अर्ब ८८ करोडको बजेट विनियोजन गरेका छन् ।
बजेट बारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले ल्याएको बजेट मतदातालाई रिझाउन चुनाव केन्द्रित र कार्यकर्तामुखी रहेको बताए । उनले भने, `चुनावलाई केन्द्रित गरेर बजेटमा कार्यक्रमहरु राखिएको छ, अत्यावश्यक कार्यक्रमभन्दा पनि कार्यकर्ताबाट कमिसन आउने खुद्रे योजनामा बढी केन्द्रित छ, आर्थिक बोझ कम गर्नुको सट्टा खर्च बढाइएको बजेट कार्यान्वयन हुने अवस्था छैन ।`
त्यस्तै लोसपाका प्रमुख सचेतक परमेश्वर साहले सो बजेटलाई परम्परावादी र यथास्थितीवादीको संज्ञा दिएका छन् । बजेट बारे टिप्पणी गर्दै उनले पनि आगामी निर्वाचनलाई प्रभावित गर्नेगरी खुद्रे कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताए ।
बजेट पूर्णतया अनुत्तरदायी र हावादारी रहेको टिप्पणी गर्दै उनले खुद्रे योजनाहरु कार्यकर्तामुखी हुन भने दीर्घकालीन योजनाहरु पुरा हुने अवस्थाको नरहेको कारण त्यो हावादारी भएको बताए ।
त्यस्तै अर्का प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले पनि यो बजेटलाई चुनाव केन्द्रित र कार्यकर्तामुखी रहेको टिप्पणी गरे ।
उनले भने, `यो बजेट पूर्णतया चुनाव केन्द्रित हो, मतदातालाई प्रभावमा पार्न मन्त्रीहरुले अधिकांश योजनाहरु आ-आफ्नो क्षेत्रको नामै किटेर लगेका छन । त्यति मात्र होइन बजेटमा दीर्घकालीनभन्दा पनि खुद्रे योजनालाई ग्राह्यता दिएर कार्यकर्तामुखी बनाइएको छ ।`
मण्डलले बजेट चुनाव केन्द्रित भएको कारण कार्यान्वयनमा आशंका व्यक्त गरे । उनले भने, `अनुमानित श्रोतभन्दा बढी बजेट ल्याएको छ, तर त्यो कतिको श्रोत जुटाएर कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने आधार देखिंदैंन ।`

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

प्रतिक्रिया