आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सिरहामा पोखरीमा डुबेर बालिकाको मृत्यु

फाइल फोटो

सिरहा -  सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँपालिका ३ खोरियाका मोहम्वद अकवर मियाँकी छोरी करिब १० वर्षिय गुडिया खातुनको पोखरीमा डुबेर मृत्यु भएको हो ।

साथीहरुसँग बाख्रा चराउन गएका बेला गाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए ।

उनका अनुसार बच्चा डुबेको खबर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नगरपालिका ९ मा रहेको आरके मेडिसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।