सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया अघि बढेको छैन : नेपाली सेना

काठमाडाैँ -  विगत केही दिनदेखि सञ्‍चार माध्‍यमहरुमा आइरहेको स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारप्रति नेपाली सेनाले ध्यानाकर्षण गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले अमेरिकी सेनासँग एसपीपीसँग सम्बन्धित कुनै पनि सम्झौता र सहकार्य नगरेको स्पष्ट पार्दै ध्यानाकर्षण गरेकाे हाे ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको सेनाले दाबी गरेकाे छ ।

नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्‍यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।