आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

एसपीपीबारे प्रधानमन्त्रीले संसद्‌मा स्पष्टिकरण दिनुपर्छ : दुर्गा पौडेल

काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपीबारे प्रधानमन्त्रीले संसद्‌मा स्पष्टिकरण दिनुपर्ने बताएकी छिन् । बिहीबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले यस्तो भनाइ राखेकी हुन् ।

‘अमेरिकी दुतावासले एसपीपीबारे पहिले नै सम्झौता भइसकेकाले अब त्यसमा थप सम्झौता आवश्यकता नभएको बताइएको छ,’ उनले भनिन्, ‘नेपाली सेनाले अमेरिकी दूतावासको त्यो दाबीलाई खण्डन गरेको छ । प्रधानमन्त्रीले त्यस सम्झौतामा हस्ताक्षर नगर्ने भनिएकाे समाचार आएको  छ । यसबारे सदनमा प्रधानमन्त्रीबाट पनि स्पष्टिकरण दिलाउन अनुरोध गर्दछु ।’

उनले एसपीपी देशका लागि गम्भीर प्रश्न बनेको बताएकी छिन् । यो सम्झौता नेपालको राष्ट्रियता सार्वभौमिकता र असंलग्न परराष्ट्रनीति समेतको लागि गम्भीर खतरा भएको उनको भनाइ छ ।

‘एसपीपी राज्य साझेदारी कार्यक्रम देशकालागि गम्भीर प्रश्न बनेको छ,’ उनले भनिन्, ‘यसबाट नेपालको राष्ट्रियता सार्वभौमिकता र असंलग्न परराष्ट्रनीति समेतको लागि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण यसलाई अस्वीकार गरेर जानुपर्छ भन्ने कुरामा विशेष जोड दिन चाहान्छु ।’