शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नबिल बैंकले ल्यायो आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

काठमाडौँ - पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा नबिल इको फ्रेन्डली बिजनेस लोन जारी गरेको छ। फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्यकता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयाँ कर्जा योजना ल्याएको हो ।

यस कर्जा योजना अन्तर्गत बैंकले साविकको भन्दा शून्य दशमलव ५ प्रतिशत (०.५%)  कममा कर्जा उपलब्ध गराउँनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्नको लागि  क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरू प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुँचमा जोड दिनेछ ।

साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उदेश्यले 'नबिल एसएमई सहकार्य योजनामा' आबद्ध गराउँनेछ । बैंकका एसएमई एण्ड एमएफ विभागका प्रमुख निरजकुमार बस्नेत भन्छन् “नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिङ्ग अन्तर्गतको विभिन्न प्रयासहरू मध्येको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,'

 उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरूमा समावेश गर्नेछ । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।