बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख

काठमाडौँ : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । रासस