बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

राजर्षि गुरुकूलको आयोजनामा गल्फ प्रतियोगिता

काठमाडौँ: राजर्षि गुरुकूल स्कुलको आयोजनामा नेपालमा पहिलोपटक विद्यालयस्तरमा गल्फ प्रतियोगिता सुरु भएको छ । शुक्रबार काठमाडौँमा सुरु प्रतियोगिताको उद्घाटन पञ्चकन्या समूहका प्रबन्ध निर्देशक तथा गल्फ खेलाडी प्रदीप कुमार श्रेष्ठले गरे । 

राजर्षि गुरुकूलमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापकै अंगका रुपमा गल्फ प्रतियोगिता आयोजना भएको बताइएको छ । ‘स्वास्थ्य जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर’ भन्‍ने नाराका साथ राजर्षि गुरुकूलले गल्फ प्रतियोगिता आयोजना गरेको हो । राजर्षि गुरुकूलले विगतमा पौडी, हकी, क्रिकेट, फुटबल, बास्केटबललगायतका खेलकुद प्रतियोगिता गर्दै आएकोमा यसपटक गल्फ पनि थपेको हो । 

प्रतियोगिता उद्घाटन गरेका श्रेष्ठले गल्फजस्ता खेलले विद्यार्थीहरूले शारीरिक, मानसिक, बौद्विक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्‍ने बताए । ‘गल्फ खेलमा करियर बनाउन चाहने खेलाडीहरूलाई आवश्यक प्रशिक्षण र अन्य आवश्यकीय सहयोग गर्न म तयार छु,’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने । 

उता विद्यालयका अध्यक्ष राजेश चौधरीले आफूहरु विद्यार्थीहरूको चौतर्फी विकासका लागि सधैँ तत्पर रहने बताए । ‘अतिरिक्त क्रियाकलापअन्तर्गत गल्फ खेल आयोजना गरेर विद्यालयले छुट्टै सन्देश दिएको छ । यस किसिमको क्रियाकलाप हाम्रो विद्यालयले आगामी दिनमा पनि जारी राख्‍नेछ,’ अध्यक्ष चौधरीको भनाइ थियो ।