शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

दिउँसो २ बजे बोलाइएको कांग्रेस बैठक अझै बस्‍न सकेन

काठमाडौँ  : दिउँसो २ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बेठक अझै बस्न सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारको बैकल्पिक सरकारको नेतृत्व कांग्रेसले गर्ने विषयमा ठोस धारणा बन्न नसकेपछि बैठक बस्न नसकेको हाे ।  नेताहरू अहिले सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भेला भएर अनौपचारिक छलफल गरिरहेका छन् ।   अनौपचारिक छलफल चले पनि बैठक बस्न नसकेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

‘ओली सरकारको विकल्पमा बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्‍यो भन्‍ने विषयमा अनौपचारिक छलफल चलिरहेको छ,’ केसीले भने, ‘तर, केन्द्रीय समितिको बैठक भने बस्न सकेको छैन ।’ दिउँसो २ बजेदेखि नेताहरू कांग्रेस मुख्यालय सानेपामा जम्मा भएर बसिरहेका छन् । वर्तमान राजनीतिक घटनाक्रम तथा पार्टीको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न बैठक डाकिएको थियो ।