दशैँमा खाँदो खाने, नखाँदो बाड्ने

दशैँ र खानपान एक अर्कासँग जोडिएर आउँछन् । दशैँका बेला थरिथरिका परिकार बनाउने चलन छ । अरु बेलामा दुईथरि खानेकुरा खाए पनि चाडपर्वका बेलामा थुप्रै परिकार बनाउछौँ । खाँदो खान्छौँ, नखाँदो फ्याँक्छौँ । अन्नले हाम्रो प्राण धानेको हुन्छ । चाडपर्वका बेलामा मात्रै होइन कहिल्यै पनि खानेकुरा फ्याँक्नु हुन्न । खानेकुरा फ्याँक्दा वातावरणमा समेत असर परिरहेको हुन्छ । खानेकुराका सम्बन्ध किसानको मेहनतदेखि ग्यासको खर्चसम्म जोडिएको हुन्छ ।
पहिला कुरा फरक थियो । कोरोना थिएन । आर्थिक रुपमा धेरैलाई गाह्रो थिएन । यो वर्ष परिस्थिति फरक छ । यो दशैँमा हामीले दशैँ, खानपान र खर्चको तालमेल मिलाउनु जरुरी छ । अघिल्ला वर्ष पाँचथरि खानेकुरा बनाउथ्यौँ भने यस वर्ष दुई थरि खानेकुरा बनाऔँ । बाँकी तीनथरि खानेकुरा बनाउने खर्च वृद्धा आश्रम, बालबालिकालाई हेर्न संस्था वा मजदुरको हातमा हालौँ । किनभने, पाँचथरिको ठाउँमा तीन थरिको परिकार खाँदा स्वास्थ्यलाई घाटा होइन फाइदा नै हुन्छ ।
कोरोनाले खान नपाएर टुँडिखेलमा हजारौँ मानिस बसिरहेका छन् । उनीहरूलाई सम्झिएर पनि खानेकुरा बढी पकाउने र फ्याँक्ने गर्नुहुँदैन । हामीले फ्याँकेको एक-एक गाँसले कसैको दशैँभरिको छाक टर्न सक्छ । चाडपर्वको बेलामा पेट भरिसकेपछि पनि कोची-कोची खाने बानी छ । त्यसले हाम्रो स्वास्थ्यमा एकदमै नराम्रो असर गर्छ । चाडपर्वपछि धेरैले आफ्नो तौल बढेको गुनासो गर्छन् । मधुमेह, मुटुको रोग भएकालाई दशैँ दशा बन्छ । यस्तो बेलामा हामीले स्वास्थ्यमा निकै ध्यान पुर्याउनुपर्छ । मीठो भयो भन्दैमा शरीरले पचाउनै नसक्ने गरी धेरै खानु हुँदैन । बजारका पत्रु खानेकुरा (जंक फुड) बाट टाढै बस्नुपर्छ ।
दशैँमा मासु धेरै खाइन्छ । मासुमा प्रोटिन हुन्छ । त्यसले स्वास्थ्यमा राम्रो गर्छ । तर, दशैँको नाममा दैनिक मासु खानाले शरीरलाई राम्रो गर्दैन । मासु दिनको तीनचोटी खाने होइन । दिन बिराएर खानुपर्छ । त्यस्तै, मासुसँगै हरियो तरकारी र गेडागुडीहरू पनि खानुपर्छ ।
आयुर्वेदमा एउटा सिद्धान्त छ । हामीले आधा पेट मात्र खानेकुरा खानुपर्छ । बाँकी रहेको आधा पेट हामीले पानी र हावाको लागि राख्नुपर्छ । यसो गर्दा खानेकुरा राम्रोसँग पच्छ । कुपोषण वा अन्य स्वास्थ्य समस्या नभएकाहरूले कम खाँदा त्यसले शरीरमा सकारात्मक नै असर गर्छ । तर, हामीले चाडपर्व नै नभए पनि आफूलाई चाहिनेभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं । ४० वर्ष नाघेपछि शरीरले २० वर्षे युवाको जस्तो खाना पचाउन सक्दैन । शारीरिक श्रम गर्ने र कुर्सीमा बसेर काम गर्ने मानिसको खान्की एकैनासको हुँदैन ।
धेरैजनालाई कोक, फ्यान्टा, ड्यु जस्ता पेय पदार्थ घरमा नभित्रिएसम्म दशैँ आएको जस्तै लाग्दैन । ती पेय पदार्थबिनाको दशैँ के दशैँ भन्नेहरू मूर्ख हुन् । संसारमा सबै कुराको औषधि भएपनि मुर्खताको औषधि हुँदैन । हामीसँग कागतीको रस हुन्छ । विभिन्न फलफुलहरूको रसबाट घरमै जुस बनाउन सकिन्छ । दही हुन्छ । मोही हुन्छ । यस्ता स्वस्थकर कुरालाई छाडेर हामी अनावश्यक कुरामा पैसा खर्च गरिरहेका हुन्छौँ । यस्ता पेय पदार्थहरू मन्द विष बराबर हुन् । तत्कालै यसको असर नदेखिए पनि भविष्यमा यसले ठूलो असर निम्त्याउँछ । कसैलाई माया गरेर पेय पदार्थ र पत्रु खानेकुरा दिनु भनेको ‘तेरो स्वास्थ्य नराम्रो होस्’ भनेर श्राप दिनु बराबर हो । (प्रस्तुतिः सृजना खड्का)

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया