निश्चलले छोडे ‘प्रसाद २’, अर्पण थापा लिने तयारीमा निर्माता

काठमाडौँ - ‘प्रसाद २’बाट अभिनेता निश्चल बस्नेत बाहिरिएका छन् । उनले अर्को फिल्मको तयारीका लागि भन्दै फिल्म छाडेको निर्माता सुभाष थापाले इकागजलाई जानकारी गराए ।
‘प्रसाद २’मा यसअघि निर्देशक फेरबदल भएका थिए । पहिला घोषणा हुँदा यो फिल्म सौरभ चौधरीले निर्देशन गर्ने घोषणा भएको थियो । केही दिनअघि उनले यो फिल्म छाडेका थिए । निर्माताले उनको ठाउँमा सुदर्शन थापालाई निर्देशनको जिम्मेवारी सुम्पेका थिए ।
निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ फिल्मको तयारी गरिरहेकाले समय दिन नसक्ने जवाफ दिएको सुभाषले बताए । ‘उहाँले खगेन्द्र लामिछाने र म मिलेर एउटा ठूलो प्रोजेक्टको तयारी गरिरहेका छौँ । म त्यसमा समय दिइरहेको छु । अब समय दिन सक्दिन भन्ने कुरा गर्नुभयो । हामीले पनि धेरै कर गरेनौँ,’ सुभाषले भने ।
दिनेश राउतले निर्देशन गरेको यसको पहिलो भागमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको थियो । दोस्रो भाग पनि यही कलाकारका साथ गर्ने निर्माताको योजना निश्चल आउट भएसँगै अपुरो रहेको छ । निर्माता सुभाष थापाले निश्चलको ठाउँमा अर्पण थापा लिने तयारी गरिरहेको जानकारी गराए ।
‘अर्पण थापासँग एक दुई चरणमा कुरा भइसकेको छ । साइनै चाहिँ गरिसकेका छैनौँ,’ सुभाषले भने ।
फिल्मको सुटिङ असार १५ देखि गर्ने निर्माताको तयारी छ । पोखराको हेम्जाकोटमा हुने सुटिङका लागि विपिनको समय बाधक बनेको छ । विपिनले बलिउड फिल्म ‘एनिमल’का लागि जुलाई–अगस्टको समय दिएका छन् । तर जुलाईको कुन महिना मुम्बई उड्नु पर्ने हो विपिनले स्पष्ट जवाफ पाएका छैनन् । विपिनको सेड्युल हेरेर सुटिङमा निस्कने सुभाषले जानकारी गराए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया