शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

नेपालगञ्‍‍ज म्याराथन मंसिर ६ गते

काठमाडौं : नेपालगञ्‍ज म्याराथनको छैटौं संस्करण आउँदो मंसिर ६ गते आयोजना हुने भएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गञ्‍ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुने म्याराथनलाई यसपटक ओलम्पिक छनौटका रुपमा समेत लिइएको छ । 

कोभिड–१९ का कारण ठूलो जमघट गर्न नमिल्ने भएकाले यसपटक विगतको भन्दा इभेन्ट घटाइएको आयोजकले जनाएको छ । यसपटकको संस्करणमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्र गरिनेछ । ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला र ८ देखि १२ वर्ष उमेर समूहलगायतका इभेन्टहरु हटाइएको आयोजक संस्थाले जानकारी दिएको छ । 
 
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा अन्य उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पनि पुरस्कारको ब्यवस्था छ ।  
 
म्याराथन, नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा आएर पुरा हुनेछ ।  प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खेलाडीहरूले भाग लिनेछन् । 

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्जमा यो म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको छ । 

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तेल नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ ।