दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवारको कारोबारमा दोहोरो अंकले घटेको छ। साताको तेस्रो कारोबारमा बजार परिसूचक ११.८२ अंक घटेको हो । साताको पहिलो कारोबारमा ९५ अंकले बढेको बजार सोमबार २४ र आजको कारोबारमा १२ अंकले घटेको हो ।
बजार १२ अंक अर्थात ०.६१ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ३.२२ अंक अर्थात ०.८६ प्रतिशतले घटेर ३७२.६० अंकमा ओर्लिएको छ।
मंगलवार कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। आइतवार र सोमवार २ अर्ब भन्दा माथिको कारोबार भएकोमा आज १ अर्बमा खुम्चिएको छ।
२३० कम्पनीहरूको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर २३ हजार १ सय ३२ पटकमा खरिद बिक्री भएको छ ।
उप- समूह तर्फ मंगलवार बैंकिङ र जीवन बीमा समूह सामान्य अंकले बढेको छ भने बाँकी ११ समूहको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया