मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

डलर कमजोर हुँदा बढ्यो सुनको मूल्य

डेमोक्र्याट राष्ट्रपति बाइडनले आर्थिक पुनरुत्थानका कार्यक्रम घोषणा गरेको खण्डमा लगानीका अन्य अवसर सिर्जना भइ सुनको मूल्यमा क्रमशः गिरावट आउन सक्छ ।

 काठमाडौं : पछिल्लो एकसातामा सुनको मूल्य ३ हजार २ सय रुपैँयाले बढेको छ । एकसाता अघि स्थानीय बजारमा ९५ हजार प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य सोमबार ९८ हजार २ सय पुगेको छ । अमेरिकी डलर कमजोर हुँदा सुनमा लगानी गर्नेहरु बढेका छन् । अमेरिकी राष्ट्रपति चुनावकी नतिजा अदालती प्रक्रियामा जाने र तनाब बढ्ने संकेतले लगानीकर्ताहरू सुनमा आकर्षित भएका हुन् ।

विश्लेषकहरूका अनुसार, अमेरिकी राष्ट्रपति निर्वाचित भएका जो बाइडन र उनको टोलीले कोभिड-१९ संकटसँग जुध्‍नका लागि विभिन्‍न योजनाहरुको तयारी गर्दैछन् । फेडरल रिजर्भले कोरोना प्रताडित अर्थतन्त्र पुनरुत्थानका लागि नयाँ कदम चाल्ने अपेक्षा गरिएको छ । डेमोक्र्याट राष्ट्रपति बाइडनले आर्थिक पुनरुत्थानका कार्यक्रम घोषणा गरेको खण्डमा लगानीका अन्य अवसर सिर्जना भइ सुनको मूल्यमा क्रमशः गिरावट आउन सक्छ ।

यसअघि मध्य अगस्टदेखि बढीरहेको सुनको मूल्य सेप्टेम्बर यता डलर बलियो भएपछि सामान्य घटेको थियो । महामारीका कारण अर्थतन्त्रमा अनिश्‍चितता देखिएको र अर्कोतर्फ अगस्टको तुलनामा सुन केही सस्तो भएपछि लगानीकर्ताले यो समयलाई सुनमा लगानी गर्ने उपयुक्त अवसरका रुपमा लिएका छन् ।

नेपाली बजारमा भदौ १ मा सुनको मूल्यमा आजकै दर कायम भएको थियो । त्यसपछि क्रमशः वृध्दि भई एक लाख रुपैँया प्रतितोला नाघेको थियो । भदौ २ र ३ गते नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च एक लाख चार सय रुपैँया प्रतितोलामा कारोबार भएको थियो । एसियाली उदयमान बजारमा पनि सुनको माग बढीरहेको छ । भारतमा दीपवली कारण सुनको माग सामान्य बढेको छ ।

कोरोना भाइरस महामारीका कारण नेपाली बजारमा भने सुनको बजार गत वर्षको भन्दा १० प्रतिशत हाराहारीमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्‍न शाक्यले बताए । ‘यो वर्ष दीपावलीमा गत वर्षको तुलनामा २५ प्रतिशतसम्म पुग्‍ने अनुमान गरेका छौं,’ उनले भने । सुनको मूल्य बढीरहेको र महामारीका कारण आम्दानी प्रभावित भएसँगै बिक्री प्रभावित हुनसक्ने उनले बताए ।