शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

नेप्सेले नयाँ रेकर्ड बनायो, इण्डेक्स २,६५७.६१ बिन्दूमा

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकले डेढ महिनाको अन्तरालमा नयाँ रेकर्ड बनाउँदै आइतबार २,६५७.६१ बिन्दूमा पुगेको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.७१ अंक अर्थात् ०.९८ प्रतिशतले बढेर नयाँ रेकर्ड बनाएको हो । यसअघि फागुन ९ मा नेप्से २,६४०.३५ बिन्दूमा पुगेपछि बजार करेक्सन हुने र बढ्ने क्रममा इण्डेक्स उच्चतम बिन्दूभन्दा तल नै रहँदै आएको थियो । 

चैत ११ पछि बजार पुनः बढ्ने क्रममा देखियो र त्यसको दशौं दिनमा पुरानो रेकर्ड तोडिएको छ । यो अवधिमा बजार सम्हालिएर अगाडि बढेको देखिन्छ । नेप्सेमा आइतबार कारोबार रकम पनि ८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम भने यसअघि नै दैनिक ९ अर्ब रुपैयाँ नाघिसकेको छ । गत साता बिहीबार बजार बन्द हुँदा नै नेप्से परिसूचक यसअघिको उच्चतम बिन्दूबाट ८.४५ अंक तल अर्थात् २,६३१.८९ बिन्दूमा रोकिएको थियो । आइतबार बजार सामान्य बढ्दा पनि यसअघिको रेकर्ड ‘ब्रेक’ भएको हो ।

आइतबार निर्जीवन बीमा कम्पनी, वित्त समूह र अन्य समूहका परिसूचकमा बढोत्तरीले नेप्से परिसूचकले पुरानो रेकर्ड पछि पार्न सम्भव भएको हो । यद्यपि ट्रेडिङ, होटल एण्ड टुरिजम, म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन, म्युअल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै समूहका परिसूचक उकालो लागेका छन् । 

आइतबार वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी, राधी विधुत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स लिमिटेड, साञ्जेन जलविधुत कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । आइतबार नेप्सेमा सबैभन्दा बढी कारोबार रकम ४७ करोड ५६ लाख ९९ हजार रुपैयाँ मूल्यका नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आठ लाख १४ हजार सात सय ९५ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै अपर तामाकोसीको २८ करोड ४१ लाख र नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८२ लाख रुपैयाँ मूल्यको सेयर कारोबार भएको छ । 

आइतबार नेप्सेमा दुई सय १२ कम्पनीको ८ अर्ब ६७ करोड १६ लाख रुपैयाँ मूल्यका एक करोड ७१ लाख २० हजार सात सय ३२ कित्ता सेयर ८६ हजार तीन सय २४ करोबारमार्फत् किनबेच भएको छ ।