काठमाडौँ र सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म, नेपाली कलाकारको पनि अभिनय रहने

काठमाडौं - फ्रान्सेली फिल्म ‘दिग्बी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् । रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिए ।
सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएका थिए ।
प्रेसमिटमा उनले भने, ‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुशि दिने एउटा फिल्म बनाउन ।’
कोभिड महामारीको कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोन्ले छायांकन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा राखे । आफू टपगन, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने बताए ।
फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।
फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्बी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सनका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताए । मार्चदेखि फिल्म निर्माण सुरु हुने बताउँदै उनीहरुले काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायांकन हुने जनाए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया