लेखाको निर्देशन पत्रिकामा, सेना द्रूतमार्गमा

काठमाडौँ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्ग (एक्सप्रेस-वे) को सुरुङमार्ग र त्यससँगै जोडिएका नौ पुलको ठेक्का पूर्वयोग्यता ‘पीक्यू ’ छनौटमा परेको कम्पनी पोली चंदा इन्जिनियरीङ स्वत चयनमा परेको छ । गत शुक्रबारसम्मको बोलपत्र आवेदन दिने अन्तिम म्याद रहेकाले एउटै कम्पनीले त्यो ठेक्का पाउने प्रायः निश्चित भएको हो ।
बिहीबार संसद्को सार्वजनिक लेखा समितिले काठमाडौँ-तराई द्रूतमार्ग (एक्सप्रेस-वे) मा दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनौट भएको ‘पोली चंदा इञ्जिनियरिङ’को छनोट रद्द गरी नयाँ प्रक्रियामा सुरु गर्न निर्देशन दिएको थियो । तर, अन्तिम दिनसम्म पनि सम्बन्धित निकायबाट पत्र प्राप्त नभएकोले सेनाले आफ्नो प्रक्रिया निरन्तर अघि बढाएको हो ।
आरम्भमा समितिले एक पक्षको आरोपलाई नै आधार मान्दै सेनासँग विवरण झिकायो । त्यही विवरणको आधारमा आयोजना प्रमुखलगायत सेनाका अधिकारीहरूसँग सवाल-जवाफ पनि गर्यो । अन्य अनुसन्धान नै नगरी समितिले एकै दिनको सवाल-जवाफमा अन्तिम चरणमा रहेको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो ।
संसदको लेखा समितिले छनौट प्रक्रिया नै रोक्न एक दिन अघि निर्देशन दिएको भए पनि आधिकारिक पत्र नआएकाले नेपाली सेनाले पूर्ववत रुपमा प्रक्रिया अघि बढाएको हो । छनौट नै भैसकेको हुनाले पोली चंदा अघि बढ्ने सम्भावना बलियो छ । उसले अब कानुनी प्रक्रियाबाट समेत त्यो जिम्मेवारी लिन सक्ने अवस्था छ । यतिबेला रद्द गर्ने भन्दा पनि अहिलेलाई यही प्रक्रियाबाट अघि बढाउने सेनाको योजना छ ।
नेपाली सेना ‘चेन अफ कमाण्ड’मा काम गर्ने निकाय हो । यसको आफ्नै प्रकारको संयन्त्र छ र आफ्नै तौर तरिका पनि भन्दै सेनाले रक्षा मन्त्रालयको निर्देशन नआएसम्म आफ्नो काम अघि बढाउने सैनिक स्रोतले बतायो । सेनाले जवाफ सबै स्थानमा दिन्छ तर सबैको निर्णय मान्दै जानुपर्छ भन्ने छैन भन्दै सेनाका अधिकारीहरू भन्छन्, ‘यहाँ सबैको केही न केही चासो देखिन्छ ।’
नेपाली सेनाले शालीन रुपमा आफ्नो सबै विवरण बुझाई सकेको र कुनै एक व्यक्तिको लहडमा अन्यको विरोध वावजुध नै निर्णय आउँने प्रक्रियालाई सेनाले पनि नियालेको भन्दै उनीहरु रक्षा मन्त्रालयको पत्रको प्रतिक्षामा रहेको बताए । रक्षा मन्त्रालय समेत हेरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिको निर्णय विरोधमा आफ्नो धारणा दिइसहेकाले पनि सेना ढुक्क भएर अघि बढेको हो ।
लेखा समितिले खरिद अनुगमनका कर्मचारीलाई बोलाइ सोधपुछसमेत नगरी सोझै ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । द्रूतमार्ग प्रकरणमा कुनै छानबिनको प्रक्रिया नै पूरा नगरी समितिको यो निर्देशन बढी हस्तक्षेपकारी र दबाबकारी रहेको समिति सदस्यहरूले बताए । लेखा समिति विधायीका आफ्नो मुख्य जिम्मेवारी भए पनि अदालत र अख्तियारको जस्तो निर्देशन दिएको भन्दै सभापति प्रति सदस्यहरूले रोष प्रकट गरेको प्रसंग पनि सेना भित्र चलेको छ ।
प्रतिनिधि सभा अन्तर्गतकै विकास तथा प्रविधि समितिले यसबारे अध्ययन गर्न उपसमिति गठन गरेर छानविन गरिरहेको अवस्थामा लेखा समितिले त्यस्तो निर्देशन दिएको हो । चैत ९ मा अनियमिताबारे अध्ययन गर्न सांसद गणेश पहाडी संयोजकत्वमा गठित उपसमितिमा सांसदहरू जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । एउटा समितिले छानबिन अगाडि बढाइरहेको विषयमा लेखा समितिबाट निर्देशन आएको हो ।
संसदीय समितिको निर्देशनलाई लक्षित गर्दै सैन्य अधिकारीले भने, ‘सेनाले गर्ने कार्य भनेको दलभित्र गर्ने तिकडम जस्तो होइन । सेनाले राजनीतिक बुझ्छ तर गर्दैन । सरकारको निर्देशन पालना गर्छ ।’ सरकारले दिएको आदेशमा अडेर सेनाले अन्तराष्ट्रिय बोलपत्रको आधारमा काम गरेको दावी गर्दै भनेको छ, ‘हामीले नियम कानुनलाई राम्ररी अध्ययनगरेर नै सबै काम अघि बढाएका छौँ । हाम्रो व्यवस्थापनमा काम हुने हो । हामीले नै काम गर्ने होइन । सांसद ज्यूहरूलाई यो विषय थाहा नै छैन । कति काम भएको समेत अध्ययन गर्नु भएको छैन । जसले जे पढायो त्यही बोल्ने ?’
नेपाली सेनाको वर्तमान नेतृत्व आफैँ सेना भित्र सुद्धिकरणमा लडिरहेको र त्यसमा देखिने खालका कामहरूसमेत भएको भन्दै यस्ता कार्यमा नियमसंगत गरिएको बताए । सेनाले आफ्नो काम अघि बढाइरहेको जानकारी सैनिक प्रवक्त एवं सहायक रथि सन्तोषबल्लभ पौड्यालले भने, ‘हामीले काम पनि गरिरेहका छौँ । जवाफ पनि दिइराखेका छौँ । अनुशासित ढंगमा रहेर काम गर्ने निकाय हो, नेपाली सेना । सरकारको निर्देशनमा राष्ट्रहितमा अग्रसर छौँ ।’
सेनालाई सरकारले सुम्पेको काम भएकाले यसमा हामीले कसरी हुन्छ छिटो सम्पन्न गर्नेगरि अघि बढाएको पनि उनले बताए । सेनाले अब, सुरुङमार्ग तयसगै सडकको काम पनि अघि बढाउने भएको छ । त्यसको काम सेनाले खोकनाबाट नभएर निजगढबाट अघि बढाउन लागेको हो । नेपाल सरकारले द्रूत मार्ग निर्माणको काम नेपाली सेनालाई २०७४ बैशाख २१ गते दिने निर्णय गरेको हो । सेनाले त्यतीबेला हौसिएर चार वर्षमा नै सम्पन्नगर्ने बताएको भए पनि तत्काल एक वर्ष ग्रेस पाएको थियो । त्यसपछि अहिले कोभिड र बीचमा केही समय डीपीआरको विषयले अल्झाएकोले पनि दुई वर्ष समय माग्दै सेनाले आगामी २०८१ सालसम्म सडक तयार गर्ने जनाएको छ ।
सेनाले साच्चै सहज ढंगले काम गर्न सकेमा आगामी ५ वर्षमा सडक सम्पन्न हुने देखिन्छ । अहिलेको प्रगति नियाल्दा सेनाले जम्मा जम्मी १२ प्रतिशत काम गरेको स्वीकारेको छ । एक सय ७५ अर्वको लागतमा बन्ने भनिएको उक्त मार्गमा अहिलेसम्म १८ अर्व पनि खर्च हुन सकेको छैन ।

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सा…

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वडा सदस्य मीनबहादुर महतोको तीन बिघामा लोभलाग्दो मेवाखेती

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवारलाई मुआब्जा वितरण

किसानलाई ५३२ घार मौरी वितरण

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

प्रतिक्रिया