आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सुर्खेतमा सुख्खा पहिरोबाट एक महिलाको मृत्यु, एक घाइते

फाइल तस्बिर

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएको एक जना महिलाको मृत्यु भएको छ । पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका-६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यस्तै, पहिरोमा परी घाइते भएका अछामको तुर्माखाँद गाउँपालिका-६ रानीवनका ७२ वर्षीय रतु कामीकाे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना पश्चिम बेसक्याम्पको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो । घाइते रतु कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ ।

जैसी र कामी अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका समयमा सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका-७ डौरी खोला नजिक सुख्खा पहिरोमा परेका हुन् ।