बलिउडका ६ महिना : ३ फिल्म मालामाल बाँकी सबको बेहाल

मुम्बई - बलिउडले सन् २०२२ को पहिलो ६ महिनामा दुःख लाग्दो समय गुजारेको छ । पहिलो ६ महिनामा रिलिज भएका फिल्ममध्ये ३ बाहेक बाँकी सबैले पैसा गुमाएका छन् । रिलिज भएमध्ये हल रिलिजबाट पैसा सुरक्षित गर्नेमा विवेक अग्निहोत्री निर्देशित ‘दि कश्मिर फाइल्स’, संजयलीला भन्साली निर्देशित ‘गंगुबाई कठैयावाडी’ र अनिस बज्मी निर्देशित ‘भुलभुलैया २’ रहेका छन् ।
तेस्रो महामारीबाट उम्केर बलिउडले अघिल्लो वर्षको नोभेम्बरमा अक्षयकुमारको ‘सूर्यवंशी’सँगै लयमा फर्कने संकेत गरेको थियो । तर, सन् २०२२ मा अक्षयकुमार नै सबैभन्दा धेरै असफल रहे । उनले खेलेका ‘बच्चन पाण्डे’ र ‘पृथ्वीराज’ले निर्माताको सातो खाए । यो क्रममा सबैभन्दा धेरै गुमायो भारतकै सबैभन्दा ठूलो फिल्म निर्माण कम्पनी यशराज फिल्मस् । सन् २०२२ मा दुई फिल्म रिलिज गरेको यशराजले दुवै फिल्मबाट चर्को घाटा सहनु परेको छ । यशराजले यो साल ‘पृथ्वीराज’ र ‘जयशभाइ जोरदार’ गरी दुई फिल्म रिलिज गरेको थियो ।
योबाहेक बलिउडले आश गरेका ‘जर्सी’, ‘हिरोपन्ती २’, ‘धाकड’, ‘अनेक’, ‘निकम्मा’, ‘अट्याक’, ‘राधेश्याम’ जस्ता फिल्मले अत्यन्तै कमजोर व्यापार गरे । ‘धाकड’, ‘अट्याक’ जस्ता फिल्मले ३ करोड पनि ग्रस गर्न सकेनन् जबकि यी फिल्मको लगानी ५० करोड कम थिएन । बलिउडमा यो साल दक्षिण भारतका दुई फिल्मले अपत्यारिलो कमाइ गरे । ‘आरआरआर’ र ‘केजीएफ २’को मूल भाषा हिन्दी थिएन तर यी दक्षिण भारतका यी दुई फिल्मले हिन्दी भाषी दर्शकबाट प्रशस्त पैसा लिएर गए । कतिपय विश्लेषक भने दक्षिण भारतका यिनै दुई फिल्मले बलिउड फिल्म उद्योग बचाएको दाबी गर्छन् ।
महामारीपछि दुई खालको ट्रेन्ड देखिएको बलिउडका व्यापार विश्लेषकहरू बताउँछन् । मन परेका फिल्म लामो समय चल्ने तर मन नपरेका फिल्म दुई दिन पनि नटिक्ने । महामारीअघि यस्तो ट्रेन्ड नरहेको विश्लेषक बताउँछन् । दर्शक पहिले जस्तो फिल्म र कलाकारलाई लिएर सहिष्णु नरहेको पनि विश्लेषकको अनुमान छ । महामारीपछि दर्शक हिरो वा ब्यानर हेरेर नभई फिल्म हेरेर पैसा खर्च गर्ने मनस्थितिमा पुगेको विश्लेषक दाबी गर्छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया