शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरे : भुसाल

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले १० बुँदे सहमति लत्याएर माधवकुमार नेपालले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा माधवले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको उनको भनाइ छ । अध्यक्ष नेपालले दोहोरो नीति लिएको उनले बताए । 

'आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,' सोमबार भुसालले फेसबुकमा लेखेका छन्, 'कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।'