आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

खेलकुद मैदान बनाउन नदिने विद्यालयका प्रअ र अध्यक्षमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं– एक विद्यालयका प्रधनाध्यापक र व्यवस्थापन समितिका अध्यक्षमाथि अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । महोत्तरीस्थित श्री मावि एकडाराका प्रअ रामदिनेश मण्डल र अध्यक्षविनोद पासवानमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी सेवाग्राहीसँग घूस माग गरेका थिए । घूस नदिएसम्म निर्माणमा अवरोध गरेका उनीहरुले निर्माण पक्षसँग ५० हजार रुपेयँसमेत लिएका हुन् ।

काममा अवरोध गरी पैसा लिएको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

विद्यालयको खेलकुद मैदानको स्तरोन्नति गर्ने क्रममा विभिन्न बहाना बनाई निर्माण कार्य सुरु गर्न नदिई घूस लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएको हो । 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद तथा जनही बिगो बमोजिम जरिवानाको सजाय हुने आयोगले जनाएको छ ।