शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चिनियाँ विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमणबारे नेताहरूले के भने ?

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरुले चीनकाविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए । उनले विदेश विभाग प्रमुख जियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताए । 

पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । यो भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उनले उल्लेख गरे । 

उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख भर्खरै नयाँ नियुक्त हुनुभएको छ । नयाँ नियुक्त भएपछि सबभन्दा पहिलो विदेश भ्रमण नेपालको गर्नुभयो । त्यसको अर्थ के हो भने चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्छ । र छिमेकसँगको सम्बन्धलाई राम्रो बनाउने उसको दृष्टिकोण छ । त्यो दृष्टिकोणको आधारमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख लिउले चार दिने नेपाल भ्रमण गर्नुभयो । र नेपालका सबैजसो मुख्य राजनीतिक पार्टीका नेताहरुसँग भेटघाट गर्नुभयो । र यी सबै पार्टीहरूसँग चिनियाँ कम्युनिष्ट पार्टीका सम्बन्धहरूलाई गहिरो बनाउन भुमिका खेल्नुभयो । र साथसाथै चीनका बिरुद्ध नेपालमा कसैले पनि नेपालको भूमिलाई प्रयोग गर्न नसकोस् । अहिलेको भूराजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीहरुले चीनका बिरुद्ध कुनै प्रकारले नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुराहरुमा चीनको चिन्ता छ । त्यो चिन्तालाई जाहेर गर्नको लागि पनि उहाँको भ्रमण भएको देखिन्छ । नेपालका सबैजसो पार्टीहरुले हामी एक चीन नीति लिन्छौँ र हामी नेपालको भू–भाग चीनका बिरुद्ध प्रयोग गर्न दिन्नौँ भन्ने कुराहरु जुन ढंगले सबैले भनेका छन् । यो कुराले नेपाल र चीनका बीचका सम्बन्धहरु आउने दिनमा राम्रो हुन्छन् भन्ने कुरा देखिन्छ ।’

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयहरूका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताए । 

उनले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको भन्दै पछिल्ला निर्णयहरूका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरु एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताए । 

उनले भने, ‘मुख्यतः नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको जहिलेपनि सदिक्षा हुन्छ । कतै नेपाल अस्थिर हुने हो कि, अशान्त हुने हो कि भन्ने चिन्ताले गर्दा अहिलेका केही निर्णयहरूले अलि सशंकित गराएको सन्दर्भमा यो भ्रमण भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी नै भएको कारणले गर्दा स्वभाविक रुपमा वामपन्थीहरु एक ठाउँमा आइदिउन् भन्ने उनीहरुको चाहाना हुने नै भयो त्यो । स्वभाविक कुरो त्यसलाई हामीले अन्यथा लिनुहुन्न । तर पनि फेरि यहाँ एकता गर्ने, नगर्ने भन्ने कुरो नेपालको राजनीतिक दलहरुकै प्राथमिकताको विषय हो ।’

नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताए । नेपालको भूमि चीनका विरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशिल देखिएको उनले बताए । त्यसैगरी नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलहरूका बीचमा समझदारी गरेर अगाडि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताए । 

उनले भने, ‘नेपालसँग चीनको जुन घनिष्ट मित्रता छ । र नेपालका सबै राजनीतिक दलहरूसँग उहाँहरुको जुन खालको सम्बन्ध छ । सम्भवतः त्यो सम्बन्धलाई थप सुदृढ गर्ने उहाँहरुको उद्देश्य हो । उहाँहरुले त्यही भन्नुभएको छ र नेपालका प्रमुख राजनीतिक दलहरुसँग विचारहरु आदान–प्रदान गर्ने, दलहरु राज्य सञ्चालनका सबैभन्दा महत्वपूर्ण निकाय भएका हुनाले दलहरूसँगको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई पनि मजबुत गर्ने भएको कारणले उहाँहरुले उच्च प्राथमिकता दिएर नेपालको भ्रमण गर्नुभएको देखिन्छ । सन्देशको हिसावले पहिलो, नेपालको भूमि चीनको बिरुद्ध प्रयोग नहोस् भन्ने कुरामा चीन अलि बढी संवेदनशील देखिन्छ । यद्यपि नेपालले सधैँभरी एक चीन नीति अवलम्वन गर्दै आएको छ । तर पछिल्लो समय कतिपय घटनाक्रमहरुले चिनियाँ मित्रहरुको मनमा केही आशंकाहरु पैदा भएको देखिन्छ । त्यसो भएर नेपालको चीन सम्बन्धी नीतिमा उहाँहरुले निरन्तरता खोजेको, त्यो एकखालको सुनिश्चितता खोजेको बुझ्न सकिन्छ । दोस्रो, नेपालमा राजनीतिक स्थायित्व होस् । नेपाल समृद्ध होस् । बलियो होस् भन्ने उहाँहरुले भन्ने गर्नुभएको छ । त्यसका लागि दलहरुका बीचमा समझदारी भएर अगाडी बढ्दा राम्रो हुन्छ भन्ने सन्देश छ । तेस्रो, जुन ढंगले भुराजनीतिक परिस्थिति बिस्तारै बदलिँदै गएको छ । र एशियामा शक्ति राष्ट्रहरुका जुनखालका प्रभावहरु, कतिपय मामिलामा हस्तक्षेपहरु बढ्दैछन् । त्यसका बाछिट्टा नेपालमा नपरोस् र त्यसमार्फत चीनको संवेदनहीलतामाथि असर नपरोस् । यिनै यिनै कुराहरु उहाँहरुको सरोकार देखिन्छ ।’

त्यस्तै उनले एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिटा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरकार रहेको उनले उल्लेख गरे । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता