शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

किन दिल्ली जाँदैछन् प्रचण्ड ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । शुक्रबार दिउँसो प्रचण्ड भारत गएर साउन १ गते फर्कने कार्यक्रम तय भएको छ ।

शुक्रबार प्रचण्ड भारत जान लागेको माओवादीका प्रवक्ता कृष्णबहादुर महराले इकागजलाई जानकारी दिए । तर त्यहाँको राजनीतिक भेटघाटबारे भने तय भइनसकेको उनले बताए ।

माओवादीका अर्का एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्ड राजनीतिक भेटघाटमा जान लागेका हुन् । 'भारतीय जनता पार्टीका अध्यक्ष जेपी नडडाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड दिल्ली जान लाग्‍नु भएको हो' ती स्थायी कमिटी सदस्यले इकागजसँग भने 'नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेछ ।'

भाजपाको 'पोलिटिकल लिडर समिट'मा प्रचण्ड जान लागेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त कार्यक्रम शनिबार हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली भ्रमणमै छिन् ।

त्यसो त दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनको चासो नेपालमा बढिरहेको छ । अमेरिका र चीनका मन्त्रीहरू नेपाल आएर फर्किसकेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै प्रचण्डले भारत भ्रमण गर्न लागेपछि अर्थपूर्ण रुपमा हेरिएको छ ।